
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ राजाडिल सडकखण्ड मर्मत तथा निर्माण उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण अधिकारीसहित ३ जना घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले अध्यक्ष अधिकारी, सदस्य मोहनप्रसाद कुइकेल र बालुवा डिपो सञ्चालक सुशान्त कुइकेललाई पक्राउ गरेको हो ।
अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार गोकर्णेश्वर नगरपालिकाबाट मर्मत तथा निर्माणको काम लिई ठेक्कामा लगाएपश्चात सेवाग्राहीबाट बाटो स्तरोन्नति योजनाको निर्माण कार्य सम्पन्न भई उपभोक्ता समितिमार्फत भुक्तानी हुन बाँकी रकम भुक्तानी दिने क्रममा घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरिएको हो ।
उनीहरू सेवाग्राहीबाट १ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ परेका हुन् । साथै ३० हजार रुपैयाँको चेक समेत बरामद गरिएको दाहालले जनाएका छन् ।