२५ जेठ २०८३, सोमबार

चितवनमा ८ वर्षमा २२० गैंडा मरे

बैशाख २१, २०८०
चितवनमा ८ वर्षमा २२० गैंडा मरे
प्रतिकात्मक तस्वीर

विगत ८ वर्षमा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गरी २२० गैंडा मरेका छन् ।

आर्थिक वर्ष २०७२/७३ देखि हालसम्ममा ती गैंडा मरेका हुन् ।

निकुञ्जका अनुसार ६४ गैंडा बुढो भएर र भीरबाट लडेर मरेका छन् भने १९ गैंडा दलदलमा फसेर र बाढीले बगाएर मरेका हुन् ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आपसमा जुधेर ८ वर्षको समयमा ५१ गैंडा मरेका छन् । बाघको आक्रमणबाट २०, चोरी शिकारीबाट ९, करेन्ट लागेर ८, बिरामी तथा रोगी भएर १२, खाडलमा परी ३, विष सेवनले ५ तथा मृत्यु कारण नखुलेका २९ गैंडा मरेका उनले जानकारी दिए ।

तिवारीका अनुसार विगत ८ वर्षमा १०० भाले र ७६ पोथी गैंडा मरेका छन् भने लिङ्ग पहिचान नभएका ४४ गैंडा मरेका छन् । आर्थिक वर्ष २०७२/७३ देखियता निकुञ्जमा सबैभन्दा बढी गैंडा आव २०७५/७६ मा मरेका कार्यालयको तथ्यांकले देखाएको छ ।

सो आवमा ४३ गैंडा मरेका थिए । सबैभन्दा कम आव २०७२/७३ मा १४ गैंडा मरेका तिवारीले बताए । तिवारीका अनुसार आव २०७३/७४ मा २५, आव २०७४/७५ मा २६, आव २०७६/७७ मा २६, आव २०७७/७८ मा ३३ र आव २०७८/७९ मा ३७ गैंडा मरेका छन् ।

चालू आवको हालसम्म १६ गैंडा मृतावस्थामा भेटिएको उनले जानकारी दिए ।

निकुञ्जको तथ्यांकअनुसार आव २०६५/६६ देखि आव २०७९/८० सम्म ३२३ गैंडा मरेका छन् । निकुञ्जमा गैंडाको संख्या बढ्दै जाँदा आपसमा जुधेर र बूढो भएर मर्नेको संख्या धेरै रहेको तिवारीले बताए । गैंडाको चरनका लागि निकुञ्जले घाँसेमैदान व्यवस्थापन र पानीको संरक्षणमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उनले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्