०४ साउन २०८३, सोमबार
युक्रेन युद्ध

क्रेमलिनमा ड्रोन खसेपछिको तनाव: पुटिनलाई लक्षित गरी युक्रेनले प्रहार गरेको दाबी कति सत्य ?

बैशाख २१, २०८०
क्रेमलिनमा ड्रोन खसेपछिको तनाव: पुटिनलाई लक्षित गरी युक्रेनले प्रहार गरेको दाबी कति सत्य ?
Photo Credit : Pixabay

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई लक्षित गरी युक्रेनले दुईवटा सशस्त्र ड्रोन पठाएको दाबी रुस सरकारले गरेको छ । 

तर रेडार वारफेयर सिस्टमको सक्रियताका कारण ती ड्रोनहरूलाई बाटैमा खसाइएको रुसले जनाएको छ । यसबाट मानवीय र भौतिक कुनै पनि क्षति नभएको रुसको भनाइ छ । 

पुटिनको हत्या गर्नका लागि भएको आतंकवादी प्रयासका रूपमा यस घटनालाई लिइएको पनि रुसले बताएको छ । इन्टनेटमा राखिएका भिडियोहरूमा कम्तीमा एउटा ड्रोन संसद् भवनमा ठोकिएको र त्यसबाट सानोतिनो आगो लागेको देखिन्छ । 

युक्रेनले लामो दूरीको ड्रोन विकसित गरिरहेको छ र ती ड्रोनहरू मस्को नजिक पुग्न थालेका छन् । फेब्रुअरी महिनामा एउटा त्यस्तै ड्रोन मस्कोबाट १०० किलोटिमर दक्षिणपूर्वमा रहेको कोलोम्ना शहरमा पाइएको थियो । अनि अप्रिल महिनामा एउटा ड्रोन मस्कोबाट ३० किलोमिटर पूर्वतर्फ दुर्घटनाग्रस्त भएको थियो । 

संसारको सबभन्दा बढी सुरक्षा प्रबन्ध मिलाइएको शहर मस्कोमा सरकारी भवनमै ड्रोन पुग्दा साहस, सौभाग्य र क्षमता सबैको सम्मिश्रण देखिएको छ । 

ड्रोनहरू सुस्त र जोखिमयुक्त हतियार हुन् । अनि मस्को रेडार सिस्टम र हवाई प्रतिरक्षा क्षेप्यास्त्रबाट घेरिएको छ । क्रेमलिन गार्डले ड्रोननिरोधी राइफलहरू पनि उपयोग गर्ने गरेको छ । त्यसले ड्रोनको कमान्ड सिग्नललाई झुक्याउँछ । रुसभित्रैका कुनै सरकारविरोधी तत्त्वले गर्न सक्ने आक्रमणबाट जोगिन यो प्रबन्ध मिलाइएको हो । 

अहिलेको ड्रोन आक्रमण युक्रेनीहरूले नै गरेका हुन् भने यसको योजना त्यहाँको सैन्य गुप्तचरी इकाइले बनाएको हुनुपर्छ (हुन त युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले यसमा आफूहरूको संलग्नता नरहेको बताएका छन्) । 

युक्रेनले यो आक्रमण गरेकै हो भने पनि त्यो पूर्णतः प्रतीकात्मक र राजनीतिक हो । ड्रोनमा हुने साना वारहेडमार्फत पुटिनलाई मार्न सकिने अपेक्षा उनीहरूले नगरेका हुन सक्छन् । अझ त्यसमाथि पुटिन आजकल क्रेमलिन खासै जाने गर्दैनन् । घटना हुँदा उनी नोभो–ओगोर्‍योभोमा रहेको निवासमा थिए । 

मस्को पनि सुरक्षित छैन है भन्ने सन्देश युक्रेनीहरूले दिन खोजेका हुन सक्छन् । अनि रुसले मे ९ मा भव्यतापूर्वक मनाउने गरेको विजय दिवस (दोस्रो विश्वयुद्धमा नाजीहरूलाई गरेको पराजयको सम्झना) भन्दा अघि यो आक्रमण गरी युक्रेनले रुसलाई सन्देश दिएको हो । सुरक्षा चिन्ताका कारण विजय दिवसका अनेकौं कार्यक्रम कि त रद्द गरिएका छन् कि त तिनको स्केल घटाइएको छ । 

वास्तवमा यस आक्रमणको गम्भीर जोखिम छ । क्रेमलिनले उपयुक्त अवसरमा प्रतिकारात्मक कारवाही गर्ने अधिकार आफूहरूसँग रहेको जनाएको छ । अहिले नै युक्रेनमा विनाश मच्चाइरहेका रुसीहरूले यसै बहानामा युद्ध चर्काउन सक्छन् ।

वास्तवमा यस आक्रमणको गम्भीर जोखिम छ । क्रेमलिनले उपयुक्त अवसरमा प्रतिकारात्मक कारवाही गर्ने अधिकार आफूहरूसँग रहेको जनाएको छ । अहिले नै युक्रेनमा विनाश मच्चाइरहेका रुसीहरूले यसै बहानामा युद्ध चर्काउन सक्छन् । (यस घटनाले वाशिङटनलाई क्रुद्ध बनाउन सक्छ किनकि उसले महिनौंदेखि किएभलाई रुसी भूमिमा यस्ता किसिमका आक्रमण नगर्न चेतावनी दिँदै आएको छ ।)

यही कारणले गर्दा पनि कतिपयले यसलाई पुटिनले गराएको झूटो आक्रमण हो भनिरहेका छन् । रुसी जनतालाई आक्रोशित बनाउन अनि युक्रेनमा थप बर्र्बर आक्रमण गर्नका लागि यसले पुटिनलाई बहाना दिएको उनीहरूको भनाइ छ । 

जेलेन्स्कीका एक सल्लाहकार मिखाइलो पोदोल्याकले यस आक्रमणमा किएभको कुनै हात नरहेको बताएका छन् । बरू यसले रुसको थप आक्रमणको पूर्वाभास दिएको उनको भनाइ छ । 

तर किएभको यो दाबी विश्वसनीय छैन । पोदोल्याकले भनेको कुरा सही हो भने त रुसले आफ्नो सुरक्षा कमजोरी आफैंले स्वीकार गरेको ठहरिन्छ । 

यो सन् १९८७ मा भएको कुख्यात घटनासँग तुलना गर्न सकिन्छ । त्यतिखेर माथियास रस्ट नामक युवा जर्मनले शान्ति अभियानका नाममा क्रेमलिन नजिकको मोस्क्वोरेत्स्की पुलमा हलुका विमान उतारेका थिए । यस घटनापछि तत्कालीन रक्षामन्त्री तथा हवाई प्रतिरक्षा बलका कमान्डर लगायत शीर्ष कमान्डलाई बर्खास्त गरिएको थियो । 

अहिलेको घटनापछि रुसका रक्षामन्त्री सर्गे शोइगुलाई बर्खास्त गरिएला त ? 

पुटिनले राजनीतिक लाभका लागि आफ्ना हवाई प्रतिरक्षा बल ड्रोन रोक्न समेत सक्षम नरहेको भन्ने आभास दिलाउन खोज्लान् भन्ने कुरा नै विश्वसनीय छैन । युक्रेन सीमाबाट ४५० किलोमिटर पर देशको मुटुमा गरिएको आक्रमण पुटिनले आफ्नो लाभका लागि हुन दिएको कुरा पत्याउन सकिन्न । 

त्यसैले यो आक्रमण युक्रेनले नै गरेको हुन सक्छ । आफ्ना पूर्वाधार, निजी निवास र अस्पतालहरूमा रुसले लगातार क्षेप्यास्त्र आक्रमण गरिरहँदा त्यसको जवाफ फर्काउनुपर्ने सोच किएभलाई आएको हुन सक्छ । 

अहिलेसम्मका सबै कुरा अनुमान हुन् । तर यस घटनाले युद्धप्रति चासो नराख्ने रुसीहरूलाई समेत आक्रोशित तुल्याउन सक्ने सम्भावना छ । एकजना टिप्पणीकारले यो घटना पुटिनलाई जेलेन्स्कीले दिएको उपहार हुन सक्ने बताएका छन् र त्यो सत्य हुन सक्छ । 

द स्पेक्टेटर पत्रिकामा प्रकाशित मार्कग्यालिओत्तीको विश्लेषण लोकान्तरका लागि विन्देशदहालले अनुवाद गरेका हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्