०७ असार २०८३, आइतबार

मन्त्री चयनमा समावेशिताको प्रश्न उठेपछि देउवाले भने – बाँकीलाई अर्कोपटक अवसर

बैशाख २१, २०८०
मन्त्री चयनमा समावेशिताको प्रश्न उठेपछि देउवाले भने – बाँकीलाई अर्कोपटक अवसर

मन्त्री चयन गर्दा समावेशिता मिलाउन नसकेको भन्दै आलोचना भएपछि कांग्रेसमा सभापति शेरबहादुर देउवाले अर्कोपटक मिलाउने आश्वासान दिएका छन् । 

८ मन्त्री चयन गर्दा समावेशिता मिलाउन नसकेको भन्दै पदाधिकारी नै आलोचनामा उत्रिएपछि देउवाले गठबन्धन सरकारमा अहिले अप्ठ्यारो भएकोले अर्कोपटक मिलाउने बताएका हुन् । 

‘मन्त्री चयन समावेशी भएन भन्नेमा केही पदाधिकारीले आवाज उठाउनुभएको थियो’ सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले भनिन्, ‘तर गठबन्धन सरकारको वाध्यताले सबैलाई समेट्न सकिएन अर्कोपटक मिलाउँछु भन्ने सभापतिको कुरा रह्यो ।’ 

महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री जीवन परियारले मन्त्री चयनमा पर्याप्त छलफल नगरेको र समावेशी नबनाएको भन्दै आलोचना गरेका थिए । तर देउवाले गठबन्धनको वाध्यता बुझिदिन आग्रह गरे ।

तीन पटक गरी कांग्रेसले सरकारमा ८ जना मन्त्री पठाएको छ । साथै पदाधिकारी बैठकले नेविसंघ, तरुण दल र महिला संघको महाधिवेशन छिटो गर्ने गरी समितिलाई विस्तार गर्ने निर्णय पनि  गरेको छ । 

यसका लागि सहमहामन्त्रीहरूलाई समन्वय गर्ने जिम्मेवारी दिएको सहमहामन्त्री डिनाले जानकारी दिइन् । 

‘भ्रातृ संस्थालाई छिटो पूर्णता दिएर महाधिवेशनको तयारीमा जानुपर्छ भन्ने भएको छ’ उनले भनिन्, ‘सहमहामन्त्रीहरूले समन्वय गरेपछि एक दुई दिनमा नेविसंघ, तरुण दल र महिला संघसहितको समितिमा सदस्य थपिन्छन् ।’ महाधिवेशन गर्ने प्रयोजनका लागि मात्रै समिति विस्तार हुने जानकारी उनले दिइन । ​

कांग्रेस पदाधिकारी बैठकमा सरकारको नीति कार्यक्रम र बजेट अर्थतन्त्रको चुनौतीलाई सामना गर्ने गरी बनाउनुपर्ने गरी चर्चा भएको थियो । पदाधिकारीको अनौपचारिक बैठक सभापति देउवा निवास धुम्बाराहीमा बसेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्