नेपाली सैनिक वार कलेज, नगरकोटमा सञ्चालित ‘सि.सं. ११ हाइयर कमाण्ड एण्ड म्यानेजमेन्ट कोर्स’ का उच्च अधिकृतहरूले सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालयको स्थलगत अवलोकन गरेका छन् ।
सो अवसरमा कोर्सका शिक्षार्थी अधिकृतहरूसँगको अन्तरक्रिया कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षा संगठनहरूबीच भएको आपसी सहकार्य तथा सहयोग आदानप्रदान र आत्मीयताले गर्दा एक-आपसबीच सम्बन्ध थप मजबुत एवं प्रगाढ हुँदै गइरहेको बताएका थिए । उनले राज्य प्रदत्त विविध जिम्मेवारी निर्वाहको क्रममा शुरुवातदेखि नै विविध तालिम तथा साधन स्रोत व्यवस्थापनमा नेपाली सेनासँग समन्वय भइरहेको बताए ।
उनले यस खालका अन्तरक्रिया तथा भ्रमणले एक आपसमा सुमधुर सम्बन्ध कायम राख्दै आगामी दिनहरूमा कार्यक्षेत्रमा कार्यसम्पादन गर्ने क्रममा सहजता आउने विश्वास व्यक्त गरे। उनले राष्ट्र र आम नागरिकको सुरक्षा, सीमा सुरक्षा, विपद् उद्धार तथा व्यवस्थापनलगायतका कार्यहरू सबैको सामूहिक प्रयासले विशिष्ट तवरले सम्पादन गर्न सकिने बताए।
सो अवसरमा महानिरीक्षक अर्यालले सो कोर्सका प्रशिक्षक सहायक रथी हिम्मतबहादुर विष्टलाई संगठनको तर्फबाट मायाको चिनोसमेत प्रदान गरे।
सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेशबहादुर ठाडा मगरले सशस्त्र प्रहरी बल, नेपालको बारेमा कोर्सका शिक्षार्थी अधिकृतहरूले राखेका विविध जिज्ञासाहरूबारे प्रस्ट पारे।
सशस्त्र प्रहरी बल, नेपालको पृष्ठभूमि, सांगठनिक संरचना, काम(कर्तव्य र अधिकार, सीमा सुरक्षा तथा विपद् व्यवस्थापनमा परिचालन, सुरक्षा संगठनहरूबीच समन्वय र सहकार्यका क्षेत्रहरू, विद्यमान चुनौतीलगायतका विविध विषयहरूबारे शिक्षार्थी अधिकृतहरू समक्ष प्रस्तुतीकरणमार्फत सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले जानकारी गराएका थिए।
त्यस अवसरमा विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल, नेपालले प्रयोगमा ल्याएको विविध सामग्रीको अवलोकन, सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयस्थित संग्रहालय र केन्द्रीय समन्वय कक्षको काम कारबाही र सो कक्षले हाल प्रयोगमा ल्याइरहेको सूचना तथा सञ्चार प्रविधिबारे समेत शिक्षार्थी अधिकृतहरूले जानकारी लिए।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेललगायत नेपाली सेना र सशस्त्र प्रहरी बल, नेपालका उच्च अधिकृतहरूको उपस्थिति रहेको थियो।