
प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ ।
सरकारको नीति तथा कार्यक्रम, समसामयिक राजनीतिक विषयवस्तुसहितमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैठक बोलाएका हुन् ।
बैठकमा प्रधानमन्त्रीसहित माओवादीबाट देव गुरुङ र शक्ति बस्नेत सहभागी छन् । कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्का कानूनमन्त्री धनराज गुरुङ सहभागी छन् ।
जसपाबाट अध्यक्ष उपेन्द्र यादव, नेकपा एसबाट अध्यक्ष माधवकुमार नेपाल, महासचिव घनश्याम भुसाल सहभागी छन् । लोसपाबाट अध्यक्ष महन्थ ठाकुर र शरतसिंह भण्डारीसहितका नेता सहभागी छन् ।
शुक्रबारमात्रै राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । २१ सिट भएको दल फिर्ता भए पनि प्रधानमन्त्रीले बहुमत गुमाएका छैनन् । तर अब कसरी अगाडि बढ्ने भन्नेसहितका विषयमा छलफल हुँदैछ ।
साथै नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउने गिरोहमा उच्च राजनीतिक नेतृत्व र कर्मचारी नै मुछिएपछि सरकारमाथि थप दबाब परेको छ । यसैले कसरी अगाडि बढ्ने भन्नेमा निर्णय लिनुपर्ने र अनुसन्धान प्रक्रियामा सहजीकरण गर्नुपर्ने दबाब सरकारलाई छ ।
साथै एमाले सचिव टाेपबहादुर रायमाझी नै यो प्रकरणमा मुछिएपछि एमाले अध्यक्ष केपी ओलीले दुईपटकसम्म भेटेर प्रधानमन्त्रीमाथि दबाब बढाइसकेका छन् ।
यसले पनि सरकारलाई आवश्यक परामर्श गरेर अगाडि बढ्नुपर्ने चुनौती देखिएको छ । यतिमात्रै होइन कांग्रेसबाटै गृहमन्त्री भएका बालकृष्ण खाँणसमेत यो प्रकरणमा जोडिएर नाम आएपछि गठबन्धन सरकारमाथि झन् दबाब र चुनौती देखिएको छ ।