
नेकपा एमालेका सांसद विष्णु पौडेलले मुलुक आर्थिक मन्दीमा गएको विषयलाई स्वीकारेर बजेट निर्माण गर्नुपर्ने बताएका छन् ।
प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफलमा भाग लिँदै पूर्व अर्थमन्त्रीसमेत रहेका सांसद पौडेलले अर्थतन्त्रका चुनौतीलाई केलाउनुपर्ने बताएका हुन् ।
‘बजेटको मार्गदर्शक सिद्धान्त र प्राथमिकता निर्धारण गर्दा हामी कहाँ छौं । नेपाली अर्थतन्त्रका चुनौती के छन् भन्ने विषयलाई टेबलमा राख्ने, तथ्यलाई केलाउन सक्नुपर्छ । तथ्यले बोलेका कुरालाई अगाडि सार्नुपर्छ’ पौडेलले भने, ‘प्रधनमन्त्री मातहतको राष्ट्रिय तथ्यांक कार्यालयले नेपाली अर्थतन्त्रको स्थिति मन्दीमा पुगेको विषय बोलेको छ । यो मन्दीमा गएको विषयलाई ढाक्छौं कि स्वाीकार्छौ कि यो भन्दा बिग्रन नदिने गरी सुधार्ने सङ्कल्पतिर अघि बढ्छौं । हामीले नेपाली अर्थतन्त्र मन्दीमा गएको छ भन्ने कोणबाट बजेट प्रस्तुत गर्नुपर्छ ।’
अर्थतन्त्रका सबै सूचकहरू राम्रो नभएको, राजस्व संकलनमा लक्ष्यको ५० प्रतिशत मात्रै उठाउन सक्नु अर्थतन्त्रका गम्भीर चुनौती भएको उनले बताए । राजस्व संकलन अघिल्लो वर्षको भन्दा १३ प्रतिशतले काम देखिएको उनको भनाइ छ । खर्च १९ प्रतिशत भएको तर राजस्व १३ प्रतिशतले घट्दा अर्थतन्त्र सहज बाटोमा नभएको भन्दै उजले गत वर्षको यतिबेलासम्म ८१७ अर्ब राजस्व संकलन भएकोमा चालू आर्थिक वर्षमा ७०८ अर्ब मात्रै उठेको उनले बताए ।