अर्जेन्टिनाका सुपरस्टार फूटबल खेलाडी लियोनल मेसीले अर्को सीजनबाट साउदी अरबको एक क्लबबाट खेल्ने लगभग पक्का भएको एएफपी समाचार संस्थाले खबर दिएको छ ।
‘मेसी आउने पक्का भइसकेको छ,’ स्रोतलाई उद्धृत गर्दै एएफपीले लेख्यो, ‘उनी आगामी सीजनमा साउदी अरबमा खेल्नेछन् ।’
उनी कुन क्लबबाट खेल्दैछनु भनी खुलेको छैन तर अल हिलालले उनलाई अनुबन्धित गर्न खोजेको बताइँदैछ ।
‘सम्झौता असाधारण किसिमको छ,’ स्रोतले थप्यो, ‘हामी साना विवरणहरूलाई अन्तिम रूप दिँदैछौं ।’
यस विषयमा टिप्पणी माग्दा मेसीले अहिले खेलिरहेको क्लब पेरिस सेन्ट जर्मेनले उनको सम्झौता अवधि जुन ३० सम्म रहेको मात्र बतायो ।
पीएसजीको अर्को स्रोतले एएफपीलाई बतायो, ‘क्लबले मेसीसँगको अनुबन्ध नवीकरण गर्न चाहेको भए पहिल्यै गरिसक्थ्यो ।’
विश्वकप विजेता मेसीलाई गत साता पीएसजीले निलम्बन गरेको थियो । अनधिकृत रूपमा साउदी भ्रमण गरेको भन्दै उनलाई निलम्बन गरिएको थियो । मेसी साउदीका पर्यटन दूत हुन् ।
यसअघि अर्का सुपरस्टार फूटबलर क्रिस्टियानो रोनाल्डो साउदीकै अर्को क्लब अल नासरमा आबद्ध भइसकेका छन् ।