
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरुद्ध नयाँ लडाइँ शुरु भएको बताएका छन् ।
काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकामा सडक तथा ग्रामीण विद्युतीकरण कार्यक्रमको आज शिलान्यास गर्दै भ्रष्टाचार नियन्त्रणका लागि आफू र पार्टीलाई जनयुद्धको जस्तै साथ चाहिएको बताए ।
प्रधानमन्त्री दाहालले विकास र समृद्धिविना अन्यायको अन्त्य र समाजवादको नयाँ युग सूत्रपात गर्न नसकिने बताए । “यसका लागि हिजोका दिनमा तपाईंहरूले दिएको साथ आज पनि चाहिएको छ। यसका लागि म तपाईंहरूसँग सहयोगको अपिल गर्न चाहन्छु” उनले भने ।
आफूले सरकारको नेतृत्व सम्हालेदेखि नै तीन वटा शब्दलाई बढी महत्व दिएको उनले बताए । “अन्यायमा परेकालाई न्याय, समानता र अधिकार चाहिन्छ । सामाजिक न्याय भनेको त्यही हो”, प्रधानमन्त्रीले भने, “देशमा विसङ्गति, विकृति र भ्रष्टाचारले विकराल रुप लिएको छ । जबसम्म भ्रष्टाचारलाई अन्त्य गरिँदैन नेपाली जनताले सुख र समृद्धिको दिन देख्न पाउने छैनन् ।”
उनले जनता सबैको साथ र सहयोगसहितको प्रतिबद्धता भए अबका पाँच वर्षमा एउटा रेकर्ड बनाउने सकिने विश्वास व्यक्त गरे।