पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरानलाई मंगलवार पक्राउ गरिएपछि उनका समर्थकहरूले रावलपिण्डीस्थित जंगी अड्डामा पसेर उत्पात मच्चाएका छन् ।
खानलाई इस्लामाबाद उच्च अदालतको परिसरबाट अर्धसैनिक बल रेन्जरहरूले पक्राउ गरी अज्ञात स्थानतर्फ लगेका थिए ।
लाहोरबाट इस्लामाबाद पुगेर बायोमेट्रिक प्रक्रिया गर्दै गर्दा खानलाई रेन्जरहरूले झ्याल फुटाएर पक्राउ गरेका थिए । उनीहरूले वकिल तथा खानका सुरक्षा कर्मचारीहरूलाई कुटपिट पनि गरेका थिए ।
खानले देशको गुप्तचर निकाय आईएसआईका एक वरिष्ठ अधिकारीमाथि आधारहीन आरोप लगाएको भन्दै सेनाले आलोचना गरेको भोलिपल्टै खान पक्राउ परेका हुन् ।
खान पक्राउ परेको खबर आउनेबित्तिकै देशका विभिन्न शहरमा व्यापक विरोध प्रदर्शनहरू गरिएका थिए । कतिपय स्थानमा प्रदर्शनकारीहरू हिंस्रक बनेका थिए । उनीहरूले प्रहरीको गाडीमा आगजनी गरेका थिए अनि सार्वजनिक सम्पत्ति तोडफोड पनि गरेका थिए ।
त्यसै क्रममा केही विरोधकर्ताहरू रावलपिण्डीस्थित सेनाको हेडक्वार्टरमा प्रवेश गरेका थिए । उनीहरूले इमरान खानलाई गरिएको पक्राउको विरोध गरेका थिए ।
जंगी अड्डाको प्रमुख गेटलाई भत्काएर खानका समर्थकहरू भित्र पसेका थिए । सेनाले उनीहरूका विरुद्ध कारवाही गरेन ।
उता लाहोरमा खानका समर्थकहरू कोर्प्स कमान्डरको निवासमा प्रवेश गरी गेट र झ्यालहरू फुटाएका थिए । त्यहाँ उपस्थित सैनिकहरूले प्रदर्शनकारीलाई रोकेनन् ।