काठमाडौं, २० भदौ- ठूला चाडपर्वहरू दशै, तिहार र छठ नजिकिँदै जाँदा बढी खपत हुने आयातित वस्तुहरु भने महँगो हुने भएका छन् । नेपालको वार्षिक कारोबारको झन्डै ४० प्रतिशत खपत हुने मुख्य सिजन दसैंका बेला ढुवानीमा देखिएको समस्याका कारण उपभोग्य वस्तु महँगिने अवस्था सिर्जना भएको हो ।
आयतकर्ताहरूका अनुसार भारतलगायत तेस्रो मुलुकबाट भित्रने सामग्रीहरू महँगो हुने अवस्था देखिएको छ । कोलकाता बन्दरगाहमा त्यहाँका यातायात व्यवसायीले सिन्डिकेट गरेपछि त्यसको समग्र प्रभाव नेपालमा देखिएको छ भने मुलुकभित्रै पनि मुग्लिनलगायतका स्थानमा गएको पहिरोले ढुवानी प्रभावित भएको छ ।
एकातिर भारतीय यातायात व्यवसायीको सिन्डिकेट त अर्काेतर्फ नेपाली भूभागमा बाढी, पहिरो र डुबानका कारण देखाउँदै सडक सञ्जालमार्फत राजधानी ल्याइने सामग्रीहरूमा यायातात शुल्क बढेको व्यवसायीहरू बताउँछन् । सम्वद्ध व्यवसायीका अनुसार बाढीपहिरोलगायतका कारण देखाएर हाल १ सय २५ प्रतिशतसम्म शुल्क बढाइएको छ, कारोबार दैनिकमा खबर छ ।