
रुसको मस्को क्षेत्रमा अमेरिकाबाट पलायन हुन खोज्ने २०० परिवारलाई आश्रय दिने गाउँ बनाउन खोजिएको आप्रवासन वकिल टिमुर बृस्लानगुरोभले बताएका छन् ।
उनले बिहीवार सेन्ट पिटर्सबर्ग इन्टरनेशनल लिगल फोरमको एक सत्रमा यसको प्रस्ताव राखेका हुन् ।
‘विचारधारात्मक कारणले गर्दा रुस जान चाहने अर्थोडक्स क्रिस्चियन, अमेरिकी र क्यानडेलीहरूका लागि गाउँ बनाउन लागिएको हो,’ उनले बताए ।
मस्को क्षेत्रीय सरकारले यस परियोजनाको स्वीकृति दिएको हो तर सम्भावित आप्रवासी स्वयंले घर निर्माणको खर्च बेहोर्नुपर्ने बेस्लानगुरोभ बताउँछन् । मस्कोभन्दा दक्षिणतर्फ रहेको सेर्पुखोभ जिल्लामा गाउँ बनाइनेछ ।
दशौं हजार पश्चिमाहरू रुस जान खोजेको बेस्लानगुरोभको दाबी छ ।
‘पश्चिममा वामपन्थी उदारवादी मूल्यमान्यता लादिएकाले मानिसहरू भाग्न खोजिरहेका छन्,’ उनले बताए, ‘अहिले त्यहाँ ७० वटा लैंगिकता छन्, पछि झन् कति होलान् ?’