
नेकपा एमालेका महासचिव शंकर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरणको शुरूआत तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको नेतृत्वमा भएको आरोप लगाएका छन् ।
एमाले नेतृत्वको सरकार हटिसकेपछि शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारका गृहमन्त्री खाँणको मुख्य योजनामा प्रकरणको शुरूआत भएको उनको जिकिर थियो ।
पार्टी निकट युवाहरूको संगठन राष्ट्रिय युवासंघ नेपालले सोमवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले राष्ट्रमाथि घात हुने खालको सो प्रकरणमा बदमासी अरुले गरे पनि आफ्नो पार्टीलाई दोषी सावित गर्ने धृष्टता भइरहेको भन्दै आक्रोश समेत व्यक्त गरे । उनले अपराधमा संलग्नहरू भ्रष्टाचार विरोधी अभियानको नेताजस्तो गरेर हिँडिरहेको उल्लेख गर्दै उनीहरूलाई कडाभन्दा कडा कारबाही गर्न पनि सरकारसँग माग गरे ।
महासचिव पोखरेलले तत्कालीन माओवादी लडाकू शिविरमा भएको घोटालाबारे छानबिन गर्न वर्तमान सरकारलाई चुनौती समेत दिए । मुलुकमा भएका ठूला–ठूला भ्रष्टाचार काण्डहरूलाई छानबिन गर्न एमाले तयार भए पनि त्यसका लागि वर्तमान सरकार तयार नभएको उनको दाबी थियो ।
महासचिव पोखरेलले भने, ‘आज भुटानीका नाममा नेपाली नागरिकहरूलाई अवैध तरिकाबाट अमेरिका पठाउने काममा जुन प्रकारको ठगी भएको छ । यो ठगीको सन्दर्भको बारेमा वास्तवमा यो ठगी काण्ड मात्रै होइन, राष्ट्रमाथिको घात हो । राष्ट्रको स्वाधिनता, स्वाभिमानप्रतिको एक प्रकारको अपमान हो भन्ने कुरालाई हामीले बुझ्न जरुरी छ । नेपाल राष्ट्र स्वयं आफैं मानव तस्करीका लागि काम गर्दछ भन्ने प्रकारको जुन प्रकारको सन्देश गएको छ । त्यो राष्ट्रका लागि लज्जाको विषय हो भन्ने कुरालाई हामी स्पष्ट गर्न चाहन्छौं तर म तपाईंहरूको बीचमा के भन्न चाहन्छु भने बदमासी एउटाले गर्ने, संकेत अर्कोतर्फ देखाउने जुन प्रकारको धृष्टता भइरहेको छ, त्यसप्रति तपाईं–हामी सबै सचेत हुनुपर्छ भन्ने कुरा म तपाईंहरूको बीचमा राख्न चाहन्छु । नेकपा एमालेको नेतृत्वको सरकार भएको बेलामा बाँकी रहेका भुटानी शरणार्थीहरूको सन्दर्भमा, उनीहरूको व्यवस्थापनको सन्दर्भमा के गर्नुपर्दछ भन्ने उद्देश्यका साथ कार्यदल बनाइएको थियो भन्ने कुरा सार्वजनिक भइसकेको छ । त्यतिबेला बनाइएको कार्यदलभित्र नयाँ कुनै व्यक्तिलाई भुटानीका रूपका प्रमाणीकरण गर्ने विषय त्यो कार्यदलको विषय नै थिएन । त्यतिबेला तयार भएको प्रतिवेदनलाई एक प्रकारले भन्नुहुन्छ भने दुरुपयोग गरिकन, प्रतिवेदनमाथि एक प्रकारले जालसाँची गरिकन नयाँ व्यक्तिहरूको नाम सामेल गर्ने खालको जुन प्रकारको धृष्टता भयो, त्यहाँबाट नै यो अपराधको शुरूआत भयो भन्ने कुरा स्पष्ट छ । त्यो कुन समयमा भयो भन्ने कुरा स्वाभाविक रूपमा नेकपा एमाले नेतृत्वको सरकार हटिसकेपछि परमादेश नेतृत्वको सरकार बनिसकेपछि जसले गृह मन्त्रालयको नेतृत्व लिएका थिए, उनीहरूको योजनामा एक प्रकारले भन्नुहुन्छ भने भुटानी शरणार्थीको व्यवस्थापनका सन्दर्भमा गरिएको कार्यदलको रिपोर्टभित्र नयाँ नामहरू समावेश गर्ने, जुन कृत्रिम धन्दा गरियो । त्यहीभित्र नेपाली नागरिकहरूलाई ठग्ने धन्दा शुरू भएको थियो भन्ने कुरा बाहिर आइसकेपछि अनेकन ढंगले तथ्यलाई लुकाउने जुन प्रकारको प्रयास भएको छ । त्यसप्रति हामी खबरदारी गर्न चाहन्छौं । वास्तवमा यो अपराधमा जो–जो संलग्न छन् । उनीहरूमाथि कडाभन्दा कडा कारबाही हुनुपर्दछ भन्ने नेकपा एमालेको मान्यता रहेको कुरा म तपाईंहरूको बीचमा राख्न चाहन्छु । आज उनीहरूको स्वर ठूलो छ । जो नेपालमा भ्रष्टाचारका लागि कुख्यात छन्, उनीहरू आज भ्रष्टाचार विरोधी अभियानको नेताजस्तो बन्न खोजिरहेका छन् । म तपाईंहरूको बीचका के भन्न चाहन्छु त भन्दाखेरी कुनै एउटा घटनाका सन्दर्भका बारेमा भइरहेको छानबिनलाई राजनीतिकरण गर्ने काम नगरौं । साँच्चै यो मुलुकमा सुशासनतर्फ अगाडि बढ्ने हो भने सबै स्क्यान्डलहरूका बारेमा चर्चामा रहेका विषयहरूको सन्दर्भमा सत्यतथ्य खोजी गर्नका लागि आँट गरौं । के अहिलेको सरकार शिविर घोटालाको छानबिन गर्न तयार छ ? के अहिलेको सरकार अर्थ मन्त्रालयको नेतृत्वमा भएको नीतिगत विचलनको माध्यमबाट राष्ट्रलाई टाँट पल्टाउने जुन अपराध भएको छ । त्यसको छानबिन गर्नका लागि तयार छ ? वा राष्ट्रका सम्पत्तिहरूलाई हिनामिना गर्नका लागि विगतमा गरिएका जग्गा, जमिनको अपचलनका क्रियाकलापहरूका बारेमा छानबिन गर्नका लागि तयार छ ? नेकपा एमाले सबै प्रकारका घटनाहरूको छानबिन गर्नका लागि तयार रहेको कुरा म तपाईंहरूको माध्यमबाट जानकारी गराउन चाहन्छु ।’
महासचिव पोखरेलले कमजोर पार्टीको नेतृत्वमा सरकार बनेकाले पनि मुलुकको अर्थतन्त्र संकटमा पुगेको दोहोर्याए । उनले देउवा नेतृत्वकै तत्कालीन ५ दलीय गठबन्धनको सरकारले अनधिकृत व्यक्तिहरूलाई समावेश गरेर बजेट बनाउँदा मुलुकमा आर्थिक संकट आएको उल्लेख गर्दै घटनाको सत्यतथ्य बाहिर ल्याउन पनि आग्रह गरे ।