
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशी पर्यटकका समस्या समाधानका लागि अन्तर मन्त्रालय समन्वय आवश्यक रहेको बताएका छन् ।
बिहीवार काठमाडौंमा आयोजित नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस्को ५४औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।
अन्तर मन्त्रालय समन्वयको अभावमा स्थल मार्गबाट भ्रमणमा आउने विदेशी पर्यटकहरूले नेपाल–भारत सिमानाकामा दुःख पाएको गुनासो आएकाले अन्तर मन्त्रालय समन्वय गरी तत्काल समस्याको समाधान निकाल्न आग्रह उनले आग्रह गरे ।
‘हाम्रा विभिन्न सरकारी निकायहरू बीच समन्वय नहुँदा भारतीय सिमानाकाबाट स्थल मार्गबाट आउने पर्यटकहरूले विभिन्न किसिमका झमेलाहरू झेल्न परिरहेको गुनासो आउने गरेको छ । अर्थ, गृह र पर्यटन मन्त्रालयहरूबीच समन्वयको अभावमा समस्या परेको देखिन्छ ।
यो ठूलो समस्या होइन । यसलाई एक दुई दिन वा हप्ता दिन भित्रै समाधान गर्न सकिन्छ,’ उनले भेन, म माननीय मन्त्रीज्यूलाई के आग्रह गर्न चाहन्छु भने यसको तत्काल समाधान गरियोस् । पर्यटकले दुःख पाउँदा नराम्रो सन्देश जाने र नेपाल प्रति नकारात्मक धारणा बन्न सक्छ ।’ प्रदेशमा ठूला र नमूना पर्यटकीय गन्तव्यहरू निर्माणमा निजी क्षेत्रलाई सहजीकरण गर्न नेपाल सरकार र अन्य निकायलाई उनले आग्रह गरेका छन् ।
काठमाडौंको चन्द्रागिरिमा निर्माण गरिएको पर्यटकीय पूर्वाधारको उदाहरण प्रस्तुत गर्दै उनले यस्तै किसिमका पूर्वाधारहरू सात वटै प्रदेशमा निर्माण गर्न सके अहिलेको पर्यटक बसाइँलाई दोब्बर गर्न सकिने बताए ।
‘हामीले जहिले पनि समस्या मात्र राख्ने तर समाधानको उपायमा छलफल नै नगर्ने भन्ने कुरा यहाँ उठेको छ । म समस्यासँगै समाधानको उपाय पनि राख्न चाहन्छु । हामीले काठमाडौंको चन्द्रागिरिमा निर्माण गरेको रिसोर्ट र केवलकारसहितको स्थान अहिले स्वदेशी र विदेशी दुवै पर्यटकको रोजाइको नयाँ गन्तव्य बनेको छ । हामीले यस्ता गन्तव्यहरू हरेक प्रदेशमा कम्तिमा एउटा मात्र पनि बनाउन सकेमा पर्यटकको बसाइँ लामो बनाएर र खर्च बढाउन सकिन्छ,’ उनले भने ।
आफूले पनि सात वटै प्रदेशमा पर्यटन पूर्वाधार बनाउन पर्छ भनेर अभियान चलाउने उनको भनाइ छ । नेपाल–भारत सिमानाका नजिक रहेका नेपालका पहाडी गन्तव्यहरू भारतीय पर्यटकको रोजाइका नयाँ गन्तव्य बन्दै गएको बताउँदै सरकारले ती स्थानमा पर्यटन पूर्वाधार निर्माणमा सहजीकरण गर्नुपर्ने धारणा राखे ।
कोभिड महामारीपछि थला परेको पर्यटन व्यवसाय पुनः लयमा आउन लागेको बताउँदै उनले भैरहवा र पोखरामा निर्माण सम्पन्न भइसकेका अन्तर्राष्ट्रिय विमानस्थलहरूको सञ्चालनका लागि आवश्यक पहल गर्न सरकारलाई उनले आग्रह गरेका छन् ।