०५ साउन २०८३, मंगलबार

पोखरा विमानस्थलबाट चाँडै चार्टर्ड उडान हुने

पोखरा विमानस्थलबाट चाँडै चार्टर्ड उडान हुने
फाइल फोटो

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चाँडै चार्टर्ड उडान शुरू हुने भएको छ ।

आगामी जुन २३ तारिखदेखि चीनका विभिन्न शहरमा चार्टर्ड उडान हुन लागेको हो । यसबाट पोखराका पर्यटन व्यवसायी उत्साहित बनेका छन् ।
    
बिहीवार नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) को २४औं राष्ट्रिय सम्मेलन तथा वार्षिक साधारणसभाका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आगामी असारको पहिलो हप्तादेखि चीनका विभिन्न शहरमा चार्टर्ड उडान शुरू हुने बताए ।

विमानस्थल सञ्चालनमा आएसँगै पोखरेलीको साढे ४ दशकदेखिको सपना पूरा भएको छ । 
    
विक्रम संवत् २०७९ पुस १७ गतेदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलले सञ्चालनको ५ महिनासम्म अन्तर्राष्ट्रिय उडान भर्न नसकेका अवस्थामा चार्टर्ड उडानले आफूहरूलाई उत्साहित बनाएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए ।
    
‘आन्तरिक उडान भइरहे पनि अन्तर्राष्ट्रिय उडान हुन नसकेका अवस्थामा चार्टड उडान हुने कुराले उत्साहित छौं,’ उनले भने, ‘यसबाट अन्तर्राष्ट्रिय उडानको सुरुआत हुनेछ, यो जसरी पनि कार्यान्वयन हुनुपर्छ ।’
    
विमानस्थल उद्घाटनका दिन नेपालबाट अन्तर्राष्ट्रिय उडान भरिरहेको हिमालय एयरलाइन्सले परीक्षण उडान गरे पनि अहिलेसम्म कुनै अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनका सहरमा चार्टर्ड उडान अन्तर्राष्ट्रिय उडानको महत्त्वपूर्ण शुरूआत हुने नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारी बताउँछन् । 
    
‘चार्टर्ड उडानमार्फत अन्तराष्ट्रिय उडान हुनु आफैंमा महत्त्वपूर्ण छ,’ उनले भने । नेपाल आउने चिनियाँँ पर्यटकमध्ये झण्डै ८० प्रतिशत पोखरा भित्रिने गरेको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । विशेषतः साहसिक पर्यटन चिनियाँँ पर्यटकको रोजाइ हुने उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्