१८ असार २०८३, बिहीबार

पूर्व प्राथमिक तहका पाठ्यपुस्तक स्वीकृति लिएर पठनपाठन गराउन निर्देशन

पूर्व प्राथमिक तहका पाठ्यपुस्तक स्वीकृति लिएर पठनपाठन गराउन निर्देशन

पाठ्यक्रम विकास केन्द्र सानोठिमीले पूर्व प्राथमिक तहका पाठ्यपुस्तक स्वीकृति लिएर मात्र पठनपाठन गराउन निर्देशन दिएको छ । 

विकास केन्द्रले एक सूचना जारी गरेर पाठ्यपुस्तकको गुणस्तर कायम गरी एकरुपता कायम गर्ने उद्देश्यले स्वीकृतिपछि मात्रै पठनपाठन गराउन निर्देशन दिएको हो ।

गएको वैशाख २० गते बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को बैठकले विद्यालय तहका अन्य पाठ्यसामग्रीसरह पूर्व प्राथमिक तहमा प्रयोग हुने पाठ्यसामग्री पनि मूल्याङ्कन गरेर स्वीकृत गर्ने निर्णय गरेको थियो । 

सोही आधारमा पाठ्यक्रम विकास केन्द्रले आगामी शैक्षिकसत्र २०८१ देखि पूर्वप्राथमिक तहमा प्रयोग हुने पाठ्यसामग्री केन्द्रमा पेस गरी मूल्याङ्कन गरेर स्वीकृत पाएपछि मात्र छपाइ तथा बिक्री वितरण गर्न निर्देशन दिएको हो ।

यसअघि पूर्व प्राथमिक तहमा केन्द्रको मूल्याङ्कनविना नै पाठ्यसामग्री प्रयोग हुँदै आएको जनाइएको छ । यसअघि प्रयोगमा आइसकेका पाठ्यसामग्रीसमेत मूल्याङ्कनका लागि पेस गर्न र स्वीकृत भएपछि मात्र प्रयोगमा ल्याउन केन्द्रले अनुरोध गरेको छ ।

पाठ्यसामग्री मूल्याङ्कनका लागि पेस गर्नेसम्बन्धी विषय र प्रक्रिया सम्बन्धमा पुनः सूचना प्रकाशित गरी जानकारी गराइने केन्द्रले जनाएको छ । सरकारले सबै तहको पाठ्यपुस्तकको गुणस्तर कायम गरी एकरूपता कायम ल्याउने भन्दै अन्य तहमा केन्द्रले बनाएको पाठ्यसामग्री प्रयोग हुँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्