०७ असार २०८३, आइतबार

तीन वर्षदेखि खानेपानीको महसुल नतिरेपछि मेचीनगरको धारा काटियो

तीन वर्षदेखि खानेपानीको महसुल नतिरेपछि मेचीनगरको धारा काटियो

मेचीनगर नगरपालिका कार्यालयले तीन वर्षदेखि खानेपानीको बक्यौता महसुल नतिरेका कारण खानेपानीको धारा काटिएको छ । धारा काटिएपछि मेचीनगर नगरपालिकाको कार्यालय परिसरमा रहेको नगर प्रहरी र बारुण यन्त्रका कर्मचारीलाई खानेपानीको असुविधा भएको नगरका प्रमुख प्रशासकीय अधिकृत महेश पराजुलीले बताए । 

उनले नगरपालिका प्रशासनलाई नसोधी खानेपानीका प्राविधिकले पानीको धारा काटिदिएको गुनासो गरे । 'एउटा सरकारी कार्यालयको खानेपानीको धारा यसरी अचानक काटिँदा अचम्म लाग्यो, हामी कार्यालयमै थियौँ, एक शब्द सोधिएन,' उनले भने ।

काँकडभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष राजकुमार पराजुलीले तीन वर्षदेखि नगरपालिकाले खानेपानीको बक्यौता नतिरेपछि बाध्य भएर धारा काट्नु परेको बताए । उनका अनुसार नगरपालिकाको बक्यौता छ लाख रुपैयाँभन्दा बढी भइसकेको र यसबीचमा पटकपटक महसुल तिर्नका लागि ताकेता पत्राचार गरिएको थियो । 

'उपभोक्तालाई लाग्ने कानुन र नियम भनेको एउटै हुनुपर्छ, धेरैपटक समन्वयका लागि पहल गर्‍यौँ, तर नगर प्रशासनले बेवास्ता गरेपछि धारा काटेका हौँ,' समितिका अध्यक्ष पराजुलीले भने । 

मेचीनगर नगरपालिकाले खानेपानीको १४ धारा प्रयोग गरिरहेको संस्थाले जनाएको छ । अध्यक्ष पराजुलीले शुक्रबार दुई वटा धारा काटिएको र अरु १२ वटा धारा पनि काट्ने तयारी भइरहेको जानकारी दिए । नगरपालिकाले भने खानेपानीको बक्यौता छिट्टै भुक्तानी गरिने जनाएको छ । 

संस्थाले नगरपालिकाको वडा नं ६ लाई सरसफाइका लागि भाडामा दिइएको ट्र्याक्टरको छ महिनादेखिको भाडासमेत भुक्तानी नपाएको जनाएको छ । हरेक ट्रिपको एक हजार आठ सय भाडा तिर्ने वडासँग सम्झौता भएकामा वडा कार्यालयको भुक्तानीसमेत नगरपालिकाबाट नदिइएको संस्थाका अध्यक्ष पराजुलीले बताए । 

उनले खानेपानी महसुल बुझाउन अटेर गर्ने कार्यालय र उपभोक्ताको धारा काट्ने अभियान सुरु गरिएको बताए । रासस

कमेन्ट गर्नुहोस्