
बुटवलमा पहिलो राष्ट्रिय पार्क सम्मेलन शुरु भएको छ ।
पर्यटन प्रवर्द्धन र समृद्धिका लागि आयोजित सम्मेलनको उद्घाटन गर्दै पूर्व अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले देशमा अर्थतन्त्रको अवस्था कहालिलाग्दो रहेको बताए । अर्थतन्त्र कहालिलाग्दो अवस्थामा पुगेकाले सरकारले प्रमुख प्रतिपक्षीलगायत सबै दल र विज्ञहरूसँग छलफल गरेर फजुल खर्च कटौती गरेर राजस्वले चालू खर्च धान्ने गरी बजेट बनाउनुपर्ने उनको भनाइ थियो ।
बुटवलको मणिमुकुन्द सेन उद्यान (फूलबारी) मा शनिवारबाट शुरु भएको सम्मेलनमा बोल्दै प्रतिनिधिसभा सदस्यसमेत रहेका पौडेलले ऐन कानूनको अभावमा सामुदायिक वनभित्र सञ्चालित पार्कहरूले समस्या झेल्नुपरेको औंल्याए ।
मानिसको शारीरिक र मानसिक स्वास्थ्य, वातावरण संरक्षण र पर्यटन प्रवद्र्धनमा पार्कहरुको भूमिका महत्वपूर्ण हुने भएकाले सरकारले कानून बनाएर वैज्ञानिक ढंगले दीगो व्यवस्थापनको बाटो खोल्नुपर्ने उनको भनाइ थियो ।
पार्कहरूको विशिष्टीकरण र वर्गीकरण आवश्यक रहेको सुझाव दिँदै उनले नेपाललाई उद्यानै उद्यानको देश बनाउन सकिने बताए । सरकारले कानून निर्माणमा बेवास्ता गर्दा निजी क्षेत्रबाट गैरसरकारी विधेयक दर्ता गरेर पनि कानून बनाउन सकिने सुझाए ।
बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले पर्यटन, रोजगारी र सांस्कृतिक तथा पर्यावरण संरक्षणमा पार्कहरुको महत्वपूर्ण योगदान रहेको बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलमा थप पार्कहरू निर्माण गर्ने सोचका साथ आफू अगाडि बढेको बताए । पार्कहरूले भोग्नुपरेका कानूनी जटिलता र नीतिगत समस्या सम्मेलनमार्फत पहिचान गरेर समाधानमा साझा पहल गर्नुपर्ने उनको भनाइ थियो ।
सम्मेलनले नेपाल पार्क महासंघ गठन गरी बुटवल घोषणपत्रसमेत जारी गर्नेछ ।