
पछिल्लो २ वर्षयता गलकोटमा ‘होमडेलिभरी’ हुनेको संख्या शून्य छ ।
नगरपालिकाले वडा–वडामा बर्थिङ सेन्टर स्थापना र स्वास्थ्य सेवाको पहुँच सहज पुर्याएपछि ‘होमडेलिभरी’ हुनेको संख्या शून्यमा झरेको हो ।
नगरपालिकालाई ‘शून्य होमडेलीभरी’ गराउनका लागि महिलालाई सचेत बनाउने र समय–समयमा स्वास्थ्य सचेतनासम्बन्धी कार्यक्रम गर्न थालेपछि घरमा सुत्केरी हुने महिलाको संख्यामा कमी आएको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले बताए ।
सबैभन्दा विकट मानिने वडा नम्बर १० को रमुवामा पनि बर्थिङ सेन्टर स्थापनापछि ‘शून्य होमडेलिभरी’ हुन थालेको उनको भनाइ छ । पछिल्लो समय ग्रामीण क्षेत्रका महिला पनि सचेत र शिक्षित बन्दै गएपछि घरमा सुत्केरी हुने महिलाको संख्या घटेको उनी बताउँछन् ।
उनी भन्छन्, ‘विगतमा धेरै महिला दिदीबहिनीले स्वास्थ्य सेवाको अभावमा अकालमा ज्यान गमाउनुपर्यो, दुर्गम बस्तीका महिलालाई सुत्केरी बिमार लाग्छ, घरमा सुत्केरी नभएपछि परिवारले ढिला अस्पताल लैजान्छन्, ढिला अस्पताल लैजाँदै गर्दा बाटोमै सुत्केरी हुने, त्यसरी बाटोमा सुत्केरी हुँदा कहिले बच्चाको मृत्यु हुने कहिले आमाको मृत्यु हुने अवस्था थियो, अहिले यहाँ त्यस्तो समस्या छैन, हरेक बस्तीको पायक पर्ने ठाउँमा स्वास्थ्यचौकी, बर्थिङ सेन्टर छन्, त्यहाँबाट सेवा प्रदान गर्न थालेपछि आमा र बच्चाको मृत्यु कम भएको पाएको छु भने घरमा सुत्केरी हुने परम्परा पनि हटेको छ ।’
उनले स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई नगरपालिकाले ४ हजार ५०० रुपैयाँ प्रोत्साहन भत्ता दिने व्यवस्था गरेको बताए । ‘नगर प्रमुख मातृ तथा पोषण कार्यक्रम’ अन्तर्गत नेपाल सरकारले बनाएको मापदण्डअनुसार ८ पटक स्वास्थ्य संस्थामा आएर गर्भ परीक्षण गराएपछि नगरपालिकाले यो सुविधा दिने गरेको प्रवक्ता भण्डारीको भनाइ छ ।
गलकोटका कुनै पनि स्वास्थ्य संस्थामा गर्भवती हुन नसके बागलुङ वा अन्य कुनै अस्पतालमा पठाउनु परे नगरपालिकाले यातायात खर्चसमेत दिने व्यवस्था गरेको उनले बताए ।