
काठमाडौं, २१ भदौ — संसारमा अहिले प्रचलित ब्रान्ड र कर्पोरेसनहरूको पैसा अनेकौं साना देशको कुल गार्हस्थ्य उत्पादनभन्दा धेरै छ । यी ब्रान्ड र कम्पनीहरूसँग धेरै देशभन्दा बढी सम्पत्ति र म्यानपावर छ ।

त्यसोभए भविष्यमा यी कम्पनीहरू देशजस्तो हुन सक्लान् त ? देशहरूको जस्तो यी कम्पनीहरूको पनि आफ्नै मुद्रा (करेन्सी) होला त ?
यही अवधारणामा आधारित रही एक फ्रान्सेली कलाकारले विभिन्न ब्रान्डको करेन्सी बनाएका छन् ।
फ्रान्सका ग्राफिक एवं मोसन डिजाइनर जेड डेलालले यी कम्पनीहरूको करेन्सी कस्तो देखिएला भनी कल्पना गरेका छन् ।
यी नोटहरूमा मार्क जुकरबर्ग र स्टिभ जब्स जस्ता व्यवसायीहरूको तस्वीर छ ।
नोटमा एकातर्फ कम्पनी स्थापना गर्ने र चलाउने मानिसको तस्वीर छ भने अर्कातर्फ कम्पनीको आदर्श वाक्य छ ।

यी नोटहरू एकातर्फ होरिजोन्टल छन् भने अर्कातर्फ भर्टिकल छन् । अहिले प्रचलित मुद्रामा स्विट्जरल्यान्डको स्विस फ्र्यांक र भेनेजुएलाको बोलिवर मुद्रा यस्तो छ ।
जेडले बनाएको नोट पाँच, १०, २०, ५०, सय र पाँच सय इकाइमा छन् ।
एजेन्सी