काठमाडौं, २१ भदौ – गत साउन १२ गते रसुवाको उत्तरगया घर भई बुढानिलकण्ठ नगरपालिका–१ तौलुङस्थित छोरीको घरमा बस्दै आएकी पार्वती ढकाल एक्लै भएको बेला दिउँसो रसुवाकै सुदामा लामिछाने पुगे । केहि पहिले सोहि घरमा काम गर्ने उनी त्यहाँ लुटपाटका लागि पुगेका थिए । घरमा पार्वती एक्लै हुने र उनकी छोरी गीता अफिसमा हुने हुँदा दिउँसोको मौका छोपेर सुदामा सो घर पुगेका थिए ।
साथी काभ्रे, पाँचखाल नगरपालिका १२ का निशान्त रसाइलीलाई सँगै लिएर त्यहाँ पुगेका उनी पहिला एक्लै पार्वतीको घरभित्र पसे र ५५ वर्षिया उनलाई ठाउकोमा ह्याम्मरले ठोके । ह्याम्मरले टाउकोमा हानेर रगताम्य भइ भूईँमा ढलेपछि सोहि घरको छतमा गएर बाहिरै बसेका रसाइलीलाई सुदामाले सिठ्ठी फुकेर भित्र आउन इशारा गरेका थिए ।
सुदामाको बोलाएसँगै घरभित्र प्रवेश गरेका रसाइलीले पार्वती ढकाल रक्ताम्य भई भुईंमा लडीरहेको देखेपछि उनले पनि घटनास्थलमा भेटिएको ह्याम्बर समाती २ पटक पार्वतीको टाउकोमा हानेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।
त्यसपछि त्यहाँ भएको धनमाल रातोकालो रंगको झोलामा बोकेर सुदामा र रसाइली बाहिरिएका थिए । धनमाल लिएर बालाजुको माछापोखरी चोकमा आई लुटेर ल्याएको धनमाल सुदामा र रसाइलीले दामासाही गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।
यही घटनामा प्रहरीले सुदामालाई यसअघि नै पक्राउ गरेर सार्वजनिक गरेको भएपनि फरार अर्का अभियुक्त रसाइलीलाई भने प्रहरीले बुधबार पक्राउ गरेर सार्वजनिक गरेको छ । महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले रसाईलीलाई काभ्रेको पाँचखाल नगरपालिका १२ सिम्ले भन्ने ठाउँबाट पक्राउ गरेको हो । यस्तै प्रहरीले लुटिएको धनमाल राख्न सहयोग नुवाकोट, खरानीटारकी सुष्मा परियारलाई पनि सामाखुशीबाट पक्राउ गरी आवस्यक कानुनी कारवाहीको लागि महानगरीय प्रहरी बृत्त महाराजगंज पठाएको जनाएको छ ।
यसरी बन्यो हत्याको योजनाअभियुक्त सुदामा लामिछाने र रसाईलीबीच ३–४ महिना अगाडी देखि चिनजान भएको प्रहरीले जनाएको छ ।
सुदामा रसाईली र मुस्कान भन्ने हरिशरण अधिकारी समेत भई गत जेठ महिनाको ८–९ गते तिर गंगवुको एक गेष्टहाउसमा बसी घर लुट्ने योजना बनाएको तर कहाँको घर लुट्ने हो भनि सुदामाले ठाउँ नखुलाएको प्रहरी अनुन्धानबाट खुल्न आएको छ । तर, उक्त योजना बनाउने मध्येका मुस्कान भन्ने हरिशरण अधिकारीको तत्काल उपत्यका बाहिर जाने काम परेकोले सो घर लुट्ने योजना असफल भएको थियो ।
तर भदौ ७ गते गते राती फेरि माछापोखरी गुणस्तर विभाग पछाडी रहेको कोशी मोरङ गेष्टहाउसमा बसी सुदामा लामिछानेले साउन १५ गते भित्रै लुटीसक्नु पर्ने भनि छलफल गरेका थिए । त्यसको ३ दिनपछि सुदामाले रसाईलीलाई लिएर पावतीको घरमा पुगेको र सो घटना घटाइ चोरी गरेर फरार भएको प्रहरीले जनाएको छ ।
सुदामा–ढकाल परिवारको कनेक्सनगीताको गोंगबुमा ट्राभल्स एजेन्सी रहेको छ । गत वैशाखमा सोहि ट्राभल एजेन्सीमा सुदामा जागिर खोज्दै पुगेका थिए । गीतालाई घरमा काम गर्ने व्यक्ति चाहिएको र सुदामा पनि काम गर्न तयार भएपछि सो परिवारसँग जोडिएका थिए ।
पार्वतीको माइती गाउँकै भएको भन्दै सुदामाले जागिर पाएपनि सोहि कारण उनले ज्यान गुमाउन पुगिन् ।