जब मानिस डिप्रेसनको सुरुको अवस्थामा हुन्छ, त्यतिवेला व्यक्तिको मुडमा परिवर्तन आउँछ । विशेषगरी दुःखी, रित्तो, रुन मन लाग्ने खालका भावना महसुस भएको पाइन्छ । डिप्रेसनका लक्षणहरूमध्ये कमजोर मुड पनि एक हो ।
डिप्रेसनको दोस्रो मुख्य लक्षणमा इच्छा, खुसी घट्दै जानु हो । कुनै पनि कुराप्रति चाहना नहुनुका साथै खुसी महसुस हुँदैन । दैनिक क्रियाकलापलगायत अन्य महत्वपूर्ण क्षेत्रमा समेत इच्छा एकाएक घट्छ ।

जब व्यक्तिमा डिप्रेसन हुन थाल्छ, उसको तौलमा समेत परिवर्तन देख्न सकिन्छ । तौल कि त बढ्ने गर्छ, कि घट्ने गर्छ । अध्ययनअनुसार बच्चामा भने तौल बढ्ने गरेको पाइएको छ ।
डिप्रेसन भएपछि प्रायजसो व्यक्तिमा राति निद्रा नलाग्ने तर दिउँसो भने निद्रा बढी लाग्ने लक्षण देखिन्छ । कसैलाई आवश्यकभन्दा बढी निद्रा लाग्ने, कसैलाई निद्रा नलाग्नेसमेत हुन सक्छ ।
आवश्यकभन्दा बढी थकान हुनुका साथै अत्यन्त कम ऊर्जा महसुस हुनेजस्ता लक्षण डिप्रेसन भएको व्यक्तिमा देखिने गर्छ । यसले गर्दा कुनै कुरामा एकाग्रता गर्न नसक्ने, निद्रा नपुग्नेजस्ता लक्षण देखिने गर्छ । अत्यधिक थकानले गर्दा शारीरिक परिश्रम गर्नसमेत कठिनाइ हुने गर्छ ।
डिप्रेसन भएका व्यक्तिमा असाध्यै हीनताबोध हुने हुँदा मृत्युको विचार बढी आउने गर्छ । डिप्रेसन अत्यधिक मात्रामा भएको व्यक्तिलाई आत्महत्याको समेत विचार आउने गर्छ । विचार आउँदैमा आत्महत्या गरिहाल्छ भन्नेचाहिँ पक्कै होइन । तर पनि नैराश्यको भाव भने बढी नै आउने गर्छ ।
डिप्रेसनबाट पीडित मानिसलाई हरेक कुरामा पश्चाताप महसुस हुने गर्छ । हरेक कुरामा आफू अयोग्य महसुस हुने गर्छ । कुनै पनि कुरामा आफ्नो नियन्त्रण नहुने, नकारात्मक विचार बढी आउने गर्छ । जसले गर्दा हरेक सकारात्मक कुरामा समेत पश्चाताप, हीनताबोधसमेत हुने गर्छ ।
डिप्रेसन धेरै प्रकारका मानसिक रोगमध्ये एक हो । यो समस्याले व्यक्तिको बानी व्यवहारमा ठूलो असर पु¥याउँछ । यसका साथै मानसिक रूपमा अनेकौँ प्रकारका समस्या देखा पर्छन् । जब व्यक्तिलाई डिप्रेसन हुन थाल्छ, निराशा बढ्छ । मनमा अनेकौँ नकारात्मक विचार उत्पन्न हुन थाल्छन् । यो समस्यालाई सुरुमै पहिचान गरी उपचार गरिएन भने समस्या झन् विकराल बन्दै जान्छ । समस्या बढ्दै गएपछि आत्महत्याको चाहना बढ्न थाल्छ । डिप्रेसन पहिचान नहुनुका साथै यसको राम्रो उपचार नहुँदा यसका रोगी बढ्दै गइरहेको पाइन्छ । डिप्रेसन पहिचानका लागि केही विशेष लक्षण थाहा हुनैपर्छ । -नयाँ पत्रिकाबाट