इलाम बजारमा सञ्चालित ‘इलाम बजार तेस्रो शहरी खानेपानी तथा सरसफाइ आयोजना’को काम सम्पन्न भएको छ ।
आयोजना सम्पन्न भएसँगै केही समयअघिदेखि परीक्षणका रूपमा इलाम बजारमा खानेपानी वितरण हुँदै आएको थियो ।
काम सम्पन्न भए पनि सन् २०२४ सम्म निर्माण कम्पनीले नै यसको मर्मतसम्भारको काम गर्नुपर्ने जनाइएको छ । नगर विकास कोष, इलाम नगरपालिका र इलाम खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाबीच सम्झौता भएर चार वर्षअघि काम शुरू भएको थियो ।
आयोजनाको काम रमण कन्ट्रक्सन कम्पनीले ५७ करोड ९५ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेर काम अगाडि बढाएको थियो ।
एसियाली विकास बैंक (एडीबी)को आर्थिक सहयोगमा खानेपानी आयोजना सञ्चालन भएको हो । जुन आयोजना जिल्लाकै अहिलेसम्मकै ठूलो खानेपानी आयोजना हो । ५ प्रतिशत स्थानीय उपभोक्ताको लागत सहभागिता रहेको छ ।
शुरूमा स्थानीय उपभोक्ताले १५ हजार २०० रकम बुझाएका थिए । यसमा इलाम नगरपालिकाले २५ प्रतिशत नगर विकास कोषसँग ऋण जमानत बसेको छ ।
खानेपानी आयोजनाका लागि सन्दकपुर गाउँपालिकामा रहेका ४ वटा खोलाको मुहानबाट पानी ल्याइएको उपभोक्ता समितिका अध्यक्ष केदार थापाले जानकारी दिए । आयोजनाबाट सदरमुकाममा प्रतिसेकेन्ड करीब ४३ लिटर पानी आइरहेको छ ।
आयोजनाका लागि सदरमुकामबाट करीब ३२ किलोमिटरको उत्तरी क्षेत्रमा पर्ने सन्दकपुर गाउँपालिकाको मुहानबाट पानी ल्याइएको हो । आयोजनाअन्तर्गत शुरूमा २ हजार ८७७ घरमा पानी वितरण गर्ने लक्ष्य लिइएको थियो । पछि थप भएर ३ हजार ३४४ घरमा आयोजनामार्फत नै खानेपानी वितरण भएको छ । पुनः ३०० बढी उपभोक्ताको संख्या बढेकाले सो काम हाल भइरहेको बताइएको छ । पछि रकम जम्मा गर्ने उपभोक्ताको घरघरमा समेत धारा जोड्ने काम भइरहेको जनाइएको छ ।