
काठमाडौं, २२ भदौ — सलमान खान आजकल युएईको अबु धाबीमा फिल्म ‘टाइगर जिन्दा है’ को शूटिङमा व्यस्त छन् ।

अली अब्बास जाफरको निर्देशनमा बनेको यो फिल्ममा सलमानको जोडीका रूपमा कट्रिना कैफ छिन् । सन् २०१२ मा आएको ‘एक था टाइगर’ को सिक्वेल हो यो ।
हालै उनी एक अवार्ड शोमा देखिए । त्यहाँको उनको एक फ्यानले उनलाई झर्को लगाउन थाल्यो । उसले बारम्बार सलमाननजिक आएर आफूसँग अनब्रेकेबल फोन भएको बतायो ।
शुरुमा त सलमानले उसलाई बेवास्ता गरे । तर उसले झर्को लगाएपछि सलमानले उसको फोन खोसेर जमीनमा फ्याँके ।
फोन त भाँचिएन । सलमानले फेरि फोन टिपेर फ्याँके ।
सलमानको यो हर्कत देखेर उनीवरिपरि भीड जम्मा भयो । भीडले उनलाई फोन फुटाऊ भन्दै उक्साउन थाल्यो ।
धेरैचोटि कोशिश गरेपछि फोन फुट्यो । त्यसपछि सलमानले फोनका टुक्राहरू उठाएर फ्यानलाई दिए अनि भने, ‘अनब्रेकेबल फोन ?’
त्यसपछि त्यहाँ भएका सबै मानिस हाँस्न थाले ।
एजेन्सी