
वरिष्ठ समालोचक गोपी मैनालीको ‘रमेश विकल : समालोचनात्मक अन्वेषण’ र वरिष्ठ समालोचक ठाकुर शर्मा भण्डारीको ‘हास्यव्यङ्ग्य महारथी भैरव अर्याल’ कृतिहरू विमोचन गरिएको छ । १६ औँ गणतन्त्र दिवसका अवसरमा आयोजित कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपककुुमार रिसालले सो कृतिहरू विमोचन गरे ।
गोकर्णेश्वर नगरपालिकाका दुई साहित्य महारथी रहेश विकल र भैरव अर्यालका विषयमा विस्तृत र खोजपूर्ण समालोचना सङ्ग्रह प्रकाशन हुनु र त्यसमा नगरपालिकाबाट सहयोग गर्न पाएकोमा आफू खुसी भएको रिसालले बताए ।
गोपी मैनालीको समालोचनात्मक अन्वेषणमाथि वरिष्ठ समालोचक तथा त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय शिक्षण विभागका प्रमुख प्रा डा खगेन्द्रप्रसाद लुुइटेलले टिप्पणी गरे । उनले मैनालीको समालोचना निकै गहन भएको बताउँदै समालोचना कस्तो हुनुपर्छ भन्ने उदाहरण पनि मैनालीले दिएको उल्लेख गरे ।
साथै रमेश विकलका कथा, उपन्यास, निबन्ध, नियात्रा, आत्मकथा, नाटक र बाल साहित्य सबैमा गहन विश्लेषण र मूल्याङ्कन भएको समेत बताए ।
अर्का टिप्पणीकर्ता साहित्यकार पुरुषोत्तम सुवेदीले पनि गोपी मैनालीको समालोचना निकै गहन भएको कुरा उल्लेख गरे ।
ठाकुरा शर्माद्वारा लिखित समालोचनामाथि वरिष्ठ साहित्यकार भागवत ढकालले टिप्पणी गर्दै भैरव अर्यालको सम्पूर्ण कृति तथा व्यक्तित्वको विश्लेषण गरिएकोमा शर्मालाई धन्यवाद दिए । अर्का टिप्पणीकर्ता वरिष्ठ साहित्यकार नरनाथ लुुइटेलले पनि ठाकुर शर्माको लेखन शैलीको प्रशंसा गरे ।
वरिष्ठ साहित्यकार तथा साहित्यिक पत्रकार रोचक घिमिरेले मैनाली व्यवस्थापनका क्षेत्रमा जस्तै साहित्यका विधाहरूमा पनि अव्वल रहेको बताए । उनले नेपाली साहित्यमा मैनालीबाट अरू कृतिहरू पनि आओस् भन्ने शुभकामना दिए । त्यस्तै वरिष्ठ समालोचक शर्मा नेपाली साहित्यमा अनवरत लागि रहेको र उनीबाट पनि थप समालोचनात्मक कृति आओस् भन्ने अपेक्षा रहेको बताए ।

कार्यक्रममा सुरभि साहित्य प्रतिष्ठानका संरक्षक एवम् वरिष्ठ समालोचक तथा लघुकथाकार युवराज मैनालीले दुई सर्जकका विषयमा नगरपालिकाले पुस्तक प्रकाशनमा गरेको सहयोगको प्रशंसा गरे । सुरभिका अर्का संरक्षक गोविन्द घिमिरे वेदमणिले पनि दुई वरिष्ठ समालोचकको कृतिको उच्च प्रशंसा गरे ।
वरिष्ठ साहित्यकारहरू विजय चालिसे, लव गाउँले, श्रीहरि फुुयाल, विमल भौकाजी लगायत दुुईसय साहित्यकार र साहित्यानुरागीले भाग लिएको कार्यक्रमको सभापतित्व सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष एवम् वरिष्ठ कथाकार बाजुराम शर्मा र प्रतिष्ठानका सचिव अच्युत घिमिरेको रहेको थियो ।