१४ असार २०८३, आइतबार

आणविक परीक्षण सफल भएको भन्दै उत्तर कोरियामा दशौँ हजारको नाचगान

कात्तिक २०, २०७४
आणविक परीक्षण सफल भएको भन्दै उत्तर कोरियामा दशौँ हजारको नाचगान
प्योङ्याङ्, २२ भदौ - उत्तर कोरियाले गएको आइतबार गरेको शक्तिशाली आणविक परीक्षणको खुसीयालीमा बिहीबार उत्तर कोरियाको राजधानी प्योङ्याङ्मा उत्सव मनाइएको छ । 

यस समाचारलाई संसारका समाचार समितिहरूले बिहानदेखि निकै प्राथमिकताका साथ सम्प्रेषण गरेका छन् । उक्त परीक्षण गर्ने वैज्ञानिकलाई उत्तर कोरियाली नागरिकले बधाई ज्ञापनगर्दै सो उत्सव मनाएको बताइएको छ । 

उत्तर कोरियाको राजधानी सहरमा दशौँ हजार नागरिक उभिएर ध्वजापताकासहित नाचगान गर्दै उत्सव मनाएका दृश्य सरकारी टेलिभिजनले देखाएको छ । 

उत्तर कोरियाली नागरिकहरुले सो आणविक परीक्षणको सफलताको खुसीयालीमा यसरी उत्सव मनाउन सडकमा ओर्लिएको जनाएका छन् । 

गत आइतबार उत्तरले गरेको सो परीक्षण लगत्तै उक्त परीक्षण हाइड्रोजन बम भएको समाचार गर्वका साथ सार्वजनिक गरेको थियो । उत्तरले उक्त परीक्षणलाई निकै सफल भएको भनेको थियो । 

बिहीबार बिहानै दशौँहजार नागरिक प्योङ्याङ्को किम इल सुङ स्क्वायरमा जम्मा भएका थिए । उनीहरुले विभिन्न रंगीचंगी ध्वजापताका बोकेर आपसमा बधाई ज्ञापन गर्नुका साथै उत्तर कोरियाका नेताको पनि जय जयकार गरेका थिए । 

उनीहरुले उत्तर कोरियाली नेताको जय जयकार र उहाँको पक्षमा नाराबाजी पनि गरेका थिए । उनीहरुले यस सफलताको पहिलो श्रेय उत्तर कोरियाली नेताको रहेको पनि सो अवसरमा बताएका थिए । 

उत्तर कोरियाले बारम्बार यस्ता क्षेप्यास्त्रहरू परीक्षणगर्दै आएको छ । केही समयमात्र अघि पनि उसले अन्तरमहादेशीय क्षेप्यास्त्र हानेको थियो । जो जापानको समुद्रसम्म पुगेर निस्तेज भई खसेको बताइएको थियो । 

तर पनि यस पटकको परीक्षणलाई यसअघिको भन्दा करिब दश गुणाबढी शक्तिशाली रहेको दक्षिण कोरियाले बताएको छ । उसले भनेको छ– उत्तर कोरियाले यसअघि गरेको पाचौँ पटकको परीक्षणभन्दा यो कम्तीमा पनि दश गुणा बढी शक्तिशाली छ । 

विश्वमा उक्त परीक्षणको बिपक्षमा निन्दा र विरोधका स्वरहरु चर्किरहेको बेला यता उत्तर कोरियामा भने यसको सफलताका लागि उत्सव नै मनाइएको छ । 

बिहीबारको सो उत्सव सरकारले आयोजना गरेको नभई नागरिक तहबाटै सुरु भएको खुसियाली हुनसक्ने त्यहाँबाट प्राप्त समाचारहरुमा जनाइएको छ । 

बिहीबारको उक्त खुसियाली ¥यालीमा जम्मा भएका नागरिकले उत्तर कोरियालाई अब संसारको कुनै पनि देशले कुनै पनि प्रकारको हानी पु¥याउन नसक्ने बताएका थिए । 

उनीहरुले अब उत्तर कोरियाको आणविक शक्तिमा नै संसारको र विशेषगरी अमेरिकाको भविश्य रहनेजस्तो टिप्पणी पनि सो अवसरमा गरेका थिए । 

उत्तर कोरियालाई कमजोर नठान्न र उसका क्रियाकलापहरुलाई कमजोर रुपमा नलिन पनि उनीहरुले संसारलाई सन्देश दिइरहेका थिए । 

उत्तर कोरियाको यो पछिल्लो पटकको परीक्षणका कारण संसारमा नयाँ हलचल पैदा भएको छ । संसारका नेताहरूले उत्तर कोरियाको यो परीक्षणले शान्तिपूर्ण समाधानभन्दा पनि संसारमा नै हतियार र शक्तिको दम्भ शुरु हुने चिन्ता व्यक्त गरेका छन् । 

उत्तर कोरियामाथि थप नाकाबन्दी तथा कारबाहीको घोषणा गरिँदैछ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले पनि उत्तर कोरियाको यस कदमको विरोध गरेको छ । उसले अहिलेसम्मकै सबैभन्दा कडा नाकाबन्दी लगाउन पनि प्रस्ताव गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्