
सामाजिक–कमेडी जनरामा निर्माण भएको फिल्म ‘वेलकम टु हेम्जाकोट’ यही जेठ २६ गतेबाट प्रदर्शनमा आउँदैछ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले फिल्मको प्रचारप्रसारलाई तीव्र बनाएको छ ।
फिल्मका लेखक एवं निर्देशक सरोज पौडेलले प्रचारप्रसारलाई तीव्र रुपमा अगाडि बढाएको जानकारी दिए । लोकान्तरसँग कुरा गर्दै उनले यो फिल्म कमेडी वेशमा बनेको अग्र्यानिक कन्टेन्ट भएको जानकारी दिए । ‘हेम्जाकोट भन्ने एउटा ठाउँको नाम हो । त्यो ठाउँभित्र रहेको समाज, त्यहाँका तीन पात्रहरूको बीचमा बुनिएको कथा हो’ उनले भने, ‘हामीले उठाएको विषयवस्तु काल्पनिक होइन । हामीहरूकै वरिपरिको कथा हो । सामाजिक कथालाई कमेडी तरिकाले प्रस्तुत गर्न खोजिएको छ ।’
अभिनेता बुद्धि तामाङले फिल्ममा गाउँका युवाहरूको वाध्यताको कथा पेस गरिएको बताए । ‘टिम र कथा मन परेपछि फिल्ममा जोडिएको हुँ’ उनले भने ‘दर्शकले मलाई नियमितभन्दा भिन्न चरित्रमा देख्न पाउनुहुनेछ । फिल्म रमाइलो बनेको विश्वास लिएको छु ।’
अभिनेता विनोद न्यौपानेले फिल्ममा आफ्नो भूमिका महत्व र अर्थपूर्ण रहेको बताए । ‘फिल्ममा मज्जाले काम गर्ने ठाउँ पाएको छु । मैले यो फिल्मबाट केही देखाउन पाउनेछु । दर्शकले पनि केही पाउनेछन्,’ उनले भने ।
अर्का अभिनेता प्रेविल कंडेलले यस्तो क्षमतावान र चर्चित कलाकारसँग काम गर्न पाउनु आफ्नो लागि भाग्यको कुरा भएको बताए । उनले फिल्मको कथा अहिलेको समसामयिक परिस्थितिमै आधारित रहेको बताए ।
डेब्यू अभिनेत्री अम्बिका तामाङले आफूले गरेको पात्रबारे भनिन्, ‘मैले गाउँकी साधारण केटीको भूमिका निर्वाह गरेकी छु । जो लोकसेवा परीक्षाको तयारीमा छिन् ।’
क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा बुद्धि तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, प्रदीप ढकाल, सन्दिप सिग्देल, अम्बिका तामाङ, सुजाइरा कार्की, विशाल पहारी, रवि गिरी, लक्ष्मीनाथ तिमल्सीना, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदिव राई, प्रेविल कंडेल, स्व.जयनन्द लामालगायत कलाकारको अभिनय छ ।