२७ जेठ २०८३, बुधबार
ब्याडमिन्टन संघमा मनलाग्दी : भाग- ४

ब्याडमिन्टनको आवरणमा 'विदेश पठाउने धन्दा', नेतृत्वको अकर्मण्यताले वरीयताकै खेलाडी पलायन

जेठ १७, २०८०
काठमाडौं
ब्याडमिन्टनको आवरणमा 'विदेश पठाउने धन्दा', नेतृत्वको अकर्मण्यताले वरीयताकै खेलाडी पलायन

ब्याडमिन्टनका विभिन्न प्रतियोगितामा असम्बन्धित व्यक्तिहरूलाई पनि अमेरिका, अस्ट्रेलिया, जापानजस्ता मुलुकमा पठाउने र उतै लुकाउने काममा नेपाल ब्याडमिन्टन संघको नेतृत्व नै क्रियाशील रहेको आरोप लागेको छ ।

अर्कातिर यही नेतृत्वको अकर्मण्यताका कारण शीर्ष १० वरीयताका खेलाडीमध्ये ६ जना विदेश पलायन भएका छन् । नेतृत्वले 'म्यानपावर दलाल'को भूमिकामा काम गरिरहेको आरोप संघकै पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले लगाएका छन् ।

राज्यले लगानी गरेका खेलाडीदेखि संघका पदाधिकारीसम्म विदेश जाने र उतै हराउने गरेको पाइएको छ । कतिसम्म भने संघले अनधिकृत व्यक्तिलाई कोच र टीम म्यानेजर बनाएर पठाउने र ती व्यक्ति समेत उतै हराउने गरेको पाइएको छ ।

टीम म्यानेजर भएर गएका कार्की अमेरिकामा लुके

'यूएसए इन्टरनेसनल च्यालेन्ज- २०१९' मा सहभागी हुन खेलाडी साजनकृष्ण ताम्राकार, प्रशिक्षक लवभक्त श्रेष्ठ र टीम म्यानेजरका रूपमा इन्द्र कार्कीसहितको ३ सदस्यीय टोली अमेरिका गएको थियो ।

खेल सकिएपछि खेलाडी ताम्राकार र प्रशिक्षक श्रेष्ठ फर्किए, तर टीम म्यानेजरको रूपमा गएका इन्द्र भने उतै लुकेर बसे । नेपाल ब्याडमिन्टन संघले खेलाडी साजनलाई निजी खर्चमा जानुपर्छ भनेका कारण उनी आफ्नै खर्चमा खेल्न अमेरिका गएका थिए ।

तर, प्रशिक्षकको रूपमा पुगेका श्रेष्ठ र टीम म्यानेजर कार्की भने सरकारी खर्चमा गएका थिए ।

उनीहरू दुवै राष्ट्रिय खेलकुद परिषद (राखेप) का कर्मचारी भएका कारण आफ्ना सबै कागजात राखेपमा पेश गरी राखेपकै खर्च तथा सुविधामा अमेरिका पुगेका थिए ।

त्यतिबेला लवभक्त श्रेष्ठ नेपाल ब्याडमिन्टन संघका उपमहासचिव थिए । उनी कोच नभए पनि कोचको नाममा अमेरिका गएका थिए ।

उपमहासचिव श्रेष्ठले नै इन्द्र कार्कीलाई अमेरिका लैजानका लागि टीम म्यानेजर बनाएका थिए । आधिकारिक कोचलाई उक्त टोलीमा सहभागी गराउनुको साटो श्रेष्ठ आफैं कोच बनेर पुगेका थिए ।

तस्वीरमा बायाँबाट श्रेष्ठ, कार्की र ताम्राकार

उनी संघको पदाधिकारी समेत भएकाले टीम म्यानेजरको रूपमा जान सक्थे तर टीम म्यानेजर भएर जाँदा इन्द्रलाई लान सकिन्नथ्यो ।

'इन्द्रलाई जसरी पनि अमेरिका जानु थियो, त्यही प्रतियोगिताको बहानामा अमेरिका गए र उतै हराए । त्यो सबै सुनियोजित थियो,' नेपाल ब्याडमिन्टन संघका एक पदाधिकारीले लोकान्तरसँग भने, 'इद्रले लवमार्फत संघको नेतृत्वलाई मोटो रकम बुझाएका कारण उनलाई टीम म्यानेजर र लवलाई कोच बनाएर पठाइएको थियो ।'

पोखरामा सम्पन्न साग गेममा भ्रष्टाचारमा मुछिएपछि उपमहासचिव पदबाट श्रेष्ठले राजीनामा गरेका थिए । अमेरिकामा लुकेका इन्द्रलाई राखेपले कारवाही गर्‍यो कि गरेन भन्ने विषयमा आफूलाई जानकारी नरहेको उनले बताए ।

संघका सचिव अस्ट्रेलिया गएर हराए !

२०७२ सालको जेठमा रामजीबहादुर श्रेष्ठकै नेतृत्वमा गठन भएको कार्यकारिणी समितिका सचिव ज्ञानेन्द्र सिपाइ पनि लामो समयदेखि अस्ट्रेलियामा छन् ।

५ वर्षअघि अस्ट्रेलियामा 'सटल टाइम' नामक एक कार्यक्रममा संघको प्रतिनिधित्व गर्दै पुगेका उनी उतै हराए । सिपाइ संघका अध्यक्ष श्रेष्ठका नजिकका नातेदार समेत हुन् ।

संघका अर्का एक पदाधिकारी भने अध्यक्ष श्रेष्ठले पहिलेदेखि नै सिपाइलाई कोरिया भगाउन चाहेको बताउँछन् ।

'अहिलेका अध्यक्ष श्रेष्ठ महासचिव भएकै बेलामा सिपाइलाई कोरिया भगाउन खोजेका थिए । त्यतिबेला संघको सबै मेल सिपाइले नै चलाउने गरेका थिए,' ती पदाधिकारीले लोकान्तरसँग भने, 'त्यतिबेला सिपाइका लागि श्रेष्ठले कोरियाको भिसा लगाइदिएका पनि थिए ।'

भिसा लाग्दा पनि कोरिया जान नपाएका उनले अध्यक्ष श्रेष्ठको सहयोगमा अस्ट्रेलिया जाने मौका पाए र उतै लुके ।

ज्ञानेन्द्र सिपाइ

सिपाइ लामो समयदेखि अस्ट्रेलियामा लुकेर बस्दा पनि संघले कारवाही गरेन ।

'संघको सचिव नै अस्ट्रेलियामा लुक्दा तत्काल कारवाही गर्नुपर्ने थियो । तर, अध्यक्ष श्रेष्ठले कुनै पनि कारवाही गर्नुभएन, किनभने अध्यक्षज्यूले नै पठाउनुभएको थियो,' ती पदाधिकारीले थपे, 'जब उपमहासचिव लवभक्त श्रेष्ठले राजीनामा गर्नुभयो त्यसपछि मात्र अस्ट्रेलियाबाट सिपाइको राजीनामा मगाउनुभयो ।'

अहिलेसम्म पनि अध्यक्ष श्रेष्ठले सिपाइ अस्ट्रेलियामा लुकेर बसेको विषयमा न कसैलाई अधिकारिक जानकारी गराएका छन्, न कारवाही नै गरेका छन् ।

अध्यक्ष र सचिव आफैं १० वर्ष जापानमा हराएका थिए

संघका बहालवाला अध्यक्ष रामजीबहादुर श्रेष्ठ र सचिव नविनविक्रम शाह आफैं पनि यसअघि १० वर्षसम्म जापानमा लुकेर बसेको पाइएको छ ।

अहिलेका अध्यक्ष श्रेष्ठ र सचिव शाह विगतमा राष्ट्रिय खेलकुद परिषदका कर्मचारी थिए ।

ब्याडमिन्टन खेलाडी समेत रहेका उनीहरूलाई राखेपले २०५२ सालमा सहायक कोचको रूपमा नियुक्ति दिएर मासिक तलब नै दिने गरेको थियो । त्यसैक्रममा जापान पुगेपछि उनीहरू उतै लुकेका थिए ।

'दुवैजना जापानमा १० वर्षसम्म लुकेर भगौडाका रूपमा बस्नुभएको थियो,' संघका एक केन्द्रीय सदस्यले लोकान्तरसँग भने, '१० वर्ष लुकेर नेपाल फर्किएपछि संघको पदाधिकारी बन्न सफल हुनुभयो । उहाँहरू आफैं भगौडा हुनुहुन्थ्यो, त्यसैले अहिले अन्यलाई पनि भगाउन मद्दत गरिरहनुभएको छ ।' 

सचिव नविनविक्रम शाहले आफूहरू १० वर्षसम्म जापान बसेको स्वीकारे ।

'हामीहरू राखेपको वा ब्याडमिन्टन संघको लगानीमा गएका थिएनौं, आफ्नै निजी लगानीमा गएका थियौं,' शाहले थपे, 'जापान बसेपछि उतैबाट हामीले राखेपको सहायक कोच पदबाट राजीनामा गरेका थियौं ।'

वरीयताक्रमका शीर्ष १० मध्ये ६ खेलाडी पलायन

नेपालको राष्ट्रिय वरीयताक्रममा परेका शीर्ष १० खेलाडी मध्ये ६ जना खेलाडी विदेश पलायन भएका छन् ।

संघले २०८० वैशाख ३ गते सार्वजनिक गरेको शीर्ष २० खेलाडीहरूको सूचीमा परेका ६ जना खेलाडीहरू १ वर्षदेखि विदेशमा छन् ।

पहिलो वरीयतामा रहेका दीपेश धामी, दोस्रोमा रहेका रत्नजीत तामाङ र नवौं वरीयतामा रहेका विकास श्रेष्ठ विगत १ वर्षदेखि अमेरिकामा छन् ।

सातौं वरीयतामा रहेका साजनकृष्ण ताम्राकार क्यानडामा र आठौं वरीयतामा रहेका नविन श्रेष्ठ जापानमा छन् ।

२०७९ फागुन २३ गते संघले जारी गरेको सूचीमा पनि उनीहरू शीर्ष १० स्थानमै थिए । वरीयताक्रमका शीर्ष १० खेलाडी विदेश पलायन हुँदा पनि वरीयताक्रमबाट उनीहरूलाई हटाइएको छैन ।

वरीयता

'ती खेलाडीहरू ५ वर्षको भिसा अवधि बाँकी रहेकै समयमा लिगल तरिकाले गएपनि अब स्वदेश नफर्किने कुरा सत्य नै हो,' संघका अर्का एक पदाधिकारीले थपे, 'देशमा नै नरहने खेलाडीलाई कि वरीयताक्रमको सूचीबाट  हटाउनुपर्थ्यो कि त स्वदेश फिर्ता बोलाउनुपर्थ्यो ।'

अध्यक्ष श्रेष्ठले अनुहार हेरेर कारबाही गर्ने वा संरक्षण गर्ने गरेको उनको आरोप छ ।

'अहिले जसरी वरीयताकै खेलाडी विदेश पलायन भएर पनि कारवाहीमा परेका छैनन्, यसरी जोगिन पाउनु ती खेलाडीको सौभाग्य नै हो,' उनले थपे, 'तर केही वर्षअघि वरीयतामै रहेका अन्तर्राष्ट्रिय खेलाडी सञ्जीव खड्का पढ्नका लागि अस्ट्रेलिया पुग्दा यही नेतृत्वले तत्काल उनलाई वरीयताबाट हटाएर कारवाही गरेको थियो ।'

राज्यले लगानी गरी उत्पादन गरेका खेलाडी संघ नेतृत्वको अकर्मण्यताका कारण विदेश पलायन हुनुपरेको संघका एक पदाधिकारी बताँछन् ।

'मैले सुनेअनुसार नेपाल प्रहरीमा प्रहरी *जवान समेत रहेका ब्याडमिन्टन खेलाडी विष्णु कटुवाललाई अमेरिका पठाइदिने भनेर संघका अध्यक्षज्यूले आश्वासन दिनुभएको छ,' उनले लोकान्तरसँग भने, 'शायद अमेरिकाका लागि भिसा प्रोसेस पनि अघि बढिसकेको छ ।'

संघका अध्यक्ष श्रेष्ठले भने अहिले खेलिरहेका खेलाडीहरू विदेश पलायन नभएको दाबी गरेका छन् ।

'खेलजीवन सकिन लाग्दै गरेका केही खेलाडी विदेश पलायन भएका हुन्,' श्रेष्ठले लोकान्तरसँग भने, 'आफ्नो वृत्ति विकासका लागि खेलाडी विदेश जानु राम्रै हो नि !'

नेपालमा राम्रो अवसर नभएपछि विदेश जाने बाध्यता ब्याडमिन्टनमा मात्र नभएर अन्य खेलमा पनि रहेको उनले बताए ।

मल्टिपल भिसा लागिसकेपछि विदेश गएर एकपटक फर्किने र फेरि विदेश जान पाउने हुनाले खेलाडी, संघका पदाधिकारीदेखि अन्य खेलाडीकै आवरणमा जसरी पनि जाने र उतै लुक्ने गरेको पाइएको छ ।

'विदेश पलायन भएका खेलाडीलाई स्वदेश फर्काउन न कुनै पहल गरिन्छ, न त कारवाही,' संघका अर्का एक केन्द्रीय सदस्यले भने, 'अमेरिका, अस्ट्रेलिया, जापान, बेलायत, कोरियाजस्ता देशमा हुने प्रतियोगितामा मात्र खेलाडी सहभागी हुन चाहनुका पछाडि पनि विदेश पलायन हुने बदनियत झल्किन्छ ।'

भारत, बंगलादेश, चीनजस्ता मुलुकमा आयोजना हुने खेलमा सहभिगताका लागि खासै आकर्षण देखिने गरेको छैन ।

अमेरिका, अस्ट्रेलिया, जापानजस्ता मुलुकमा खेलाडी पठाउन संघको नेतृत्वले नै जोडबल गर्नुमा पनि बदनियत झल्किने उनको जिकिर छ ।

* विष्णु कटुवाल प्रहरी हवल्दार भनेर स्रोतले बताए पनि उनी प्रहरी जवान रहेको खुलेपछि त्यसअनुसार सच्च्याइएको छ ।

पढ्नुहोस्, यसअघिका भागहरू:

ब्याडमिन्टन संघमा बेथितिको चाङ : ८ वर्षदेखिको माइन्युट नै गायब

ब्याडमिन्टन संघमा भद्रगोल: ८ वर्षदेखि साधारणसभा भएन, अनुदानको रकममा समेत अनियमितता

'माइन्युट'को विषयमा भ्रष्टाचारसम्बन्धी कानून आकर्षित, आरोप-प्रत्यारोपमा पदाधिकारी

salt training

कमेन्ट गर्नुहोस्