२७ जेठ २०८३, बुधबार

लेखा समितिको आन्तरिक कार्यविधि मस्यौदा तयार पार्न उपसमिति गठन

लेखा समितिको आन्तरिक कार्यविधि मस्यौदा तयार पार्न उपसमिति गठन

संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बुधवारको बैठकले समितिको बैठक सञ्चालन सम्बन्धी आन्तरिक कार्यविधिको मस्यौदा तयार पार्न एक उपसमिति गठन गर्ने निर्णय गरेको छ ।

सांसद राजेन्द्रकुमार केसी संयोजक तथा ऋषिकेष पोखरेल, रामकृष्ण यादव, डा. अमरेशकुमार सिंह र हरि ढकाल सदस्य रहने गरी कार्यविधि मस्यौदा निर्माण उपसमिति गठन गरिएको समितिका सचिव एकराम गिरीले जानकारी दिए ।

कार्यविधिको मस्यौदा तयार पारेर समितिको अर्को बैठकमा पेश गर्न भनिएको छ ।
  
समितिको बुधवारको बैठकमा बैठक सञ्चालन कार्यविधि तयार पार्ने, समिति सभापति चयन गर्ने र समितिमा विचाराधीन तथा फर्छ्यौट हुन बाँकी रहेका उजुरीका विषयमा छलफल भएको थियो ।
      
महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले देखाएका बेरुजु फर्छ्यौट, आर्थिक सुशासन, सरकारी कोषको प्रभावकारी र मितव्ययी खर्च भए/नभएको जाँच पड्ताल लगायतका महत्त्वपूर्ण क्षेत्राधिकार पाएको लेखा समितिको सभापति चयनमा ढिलाइ गर्न नहुने धारणा समिति सदस्यहरूले राखेका थिए ।
 
ज्येष्ठ सदस्यका रूपमा समितिको सभापतित्व गरेका सांसद अर्जुन नरसिंह केसीले सार्वजनिक लेखा समितिका काम कारबाहीमा कुनै आग्रह पूर्वाग्रह तथा पक्ष विपक्ष नहुने बताए । समिति अविछिन्न उत्तराधिकारीवाला संस्थाका रूपमा रहने भएकाले नयाँ सदस्य नियुक्त हुनुभन्दा अघिका उजुरीबारे पनि छलफल र छानबिन गरिनुपर्ने उनले बताए ।

समितिको बुधवारको बैठकमा २०७६ वैशाख ३ गतेयता दर्ता भएका १२१ उजुरीमाथिको छलफल तथा छानबिन टुंग्याउने विषयमा पनि छलफल भएको छ । समिति सचिव गिरीका अनुसार हालसम्म १२१ उजुरी समितिमा दर्ता भएर विचाराधीन अवस्थामा रहेका छन् । नयाँ संसद् आएपछि गठन भएको लेखा समितिमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको शेयर स्वामित्व विवाद सम्बन्धी उजुरी परेको छ ।
   
समितिका सदस्यहरू राजन केसी, अमरेशकुमार सिंह, रामकृष्ण यादव, गोकुलप्रसाद बाँस्कोटा, रामकृष्ण यादव, योगेश भट्टराई, विक्रम पाण्डे, जनार्दन शर्मा लगायतले समितिमा परेका सबै उजुरीलाई छलफल र छानबिन गर्नुभन्दा महत्त्वपूर्ण विषयमाथिका उजुरीलाई पहिले समितिमा ल्याइनुपर्ने धारणा राखेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्