
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उज्जैनमा आध्यात्मिक अनुभूति गर्ने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् ।
शुक्रवार मध्य प्रदेशको उज्जैनमा महाकालेश्वर मन्दिरको भ्रमण गर्न लागेका प्रचण्डसँग मोदीले बिहीवार आयोजित संयुक्त पत्रकार सम्मेलनका क्रममा आध्यात्मिकताको कुरा उठाएका हुन् ।
‘प्रधानमन्त्री प्रचण्डजी, तपाईं भोलि इन्दोर र धार्मिक शहर उज्जैनको यात्रा गर्र्दै हुनुहुन्छ,’ उनले बताए, ‘तपाईंको उज्जैन यात्रा ऊर्जामयी हुनेछ र पशुपतिनाथबाट महाकालेश्वरसम्मको यात्राबाट तपाईंलाई आध्यात्मिक अनुभूति पनि हुनेछ भनी मैले आशा गरेको छु ।’
संयुक्त पत्रकार सम्मेलनका क्रममा आफ्नो भनाइ टुंग्याउने बेलामा मोदीले प्रचण्डलाई आध्यात्मिकताको सन्देश दिएका हुन् ।
महाकालेश्वर मन्दिरमा प्रधानमन्त्री प्रचण्डले रुद्राक्षका मालाहरू अर्पण गर्ने कार्यक्रम रहेको स्रोतले बताएको छ ।