१२ असार २०८३, शुक्रबार

मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक ओझेलमा

मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक ओझेलमा
प्रतिकात्मक तस्वीर

पूर्वपश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गको वैकल्पिक मानिएको बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडक ओझेलमा परेको छ ।

मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको सडकको थप १९ किलोमिटर मार्ग खोलेपछि ढोरपाटनसँग जोडिनेछ तर पछिल्लो २ वर्षयता बजेट विनियोजन नहुँदा सडक निर्माण रोकिएको छ । 

भौगोलिक रूपमा म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाका वासिन्दा लाभान्वित हुने र दीर्घकालीनरूपमा राष्ट्रिय महत्त्व राख्ने भए पनि आवश्यक बजेट र पहुँचको अभावमा यो सडक ओझेलमा परिरहेको धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए ।

उनका अनुसार काठमाडौं र पोखराबाट बेनी हुँदै ढोरपाटन र पूर्वीरुकुम जोड्ने यो छोटो दूरीको सडक हो । बेनीबाट मुना हँुदै खोरियासम्म ५० किलोमिटर सडकको मार्ग खुलिसकेको र ढोरपाटनबाट जलजलासम्म पनि १० किलोमिटर कच्ची सडक बनेको अध्यक्ष पुनले बताए ।

‘बेनीबाट दरवाङ–मुना–जलजला–ढोरपाटन हुँदै पूर्वीरुकुमको टकसेरा जोड्ने सडकको मार्ग खोल्ने काम सकिए मध्यपहाडी लोकमार्गको बागलुङ खण्डभन्दा ७० किलोमिटर दूरी छोटिन्छ,’ उनले भने, ‘पूर्वीरुकुमको टकसेराबाट ढोरपाटनको निसिलढोरसम्म ८ किलोमिटर सडकले जोडिन बाँकी छ ।’

म्याग्दीको धवलागिरि गाउँपालिका–२ खोरियामा ३ वर्षअघि पुगेको सडक निर्माणको काम पछिल्लो २ वर्षयता बजेट विनियोजन नहुँदा रोकिएको छ । १९ किलोमिटर सडकको विस्तृत परियोजना प्रतिवेदन बनाएर प्रदेश र संघीय सरकारसँग योजना तथा बजेटको प्रस्ताव गरिएको धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताए ।

म्याग्दीका सरोकारवालाले खोरिया पुगेको सडकलाई ढोरपाटन हुँदै पूर्वीरुकुम जोडेर मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको वैकल्पिक मार्गका रूपमा यो सडकलाई प्रयोगमा ल्याउन लुम्बिनी प्रदेश र पूर्वीरुकुमका जनप्रतिनिधिसँग छलफल र पहल थालेका छन् ।

‘भूबनोटको सहजता र दूरीको हिसाबले पनि मध्यमहाडी लोकमार्ग म्याग्दीबाटै विस्तार हुनुपर्ने हो,’ उपाध्यक्ष पुनले भने, ‘तत्कालीन समयमा केन्द्रीय पहुँच नपुगेकै कारण लोकमार्गबाट म्याग्दीलाई हटाउँदा सिंगो जिल्लालाई नै अन्याय भएको छ ।’
 

salt training

कमेन्ट गर्नुहोस्