
राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालको जातजाति, भाषा तथा धर्मसम्बन्धी तथ्यांकीय नतिजा सार्वजनिक गरेको छ ।
कार्यालयले शुक्रवार सार्वजनिक गरेको विरणअनुसार नेपालमा १४२ वटा जातजाति रहेका छन् । यसअघि २०६८ सालको जनगणना अनुसार नेपालमा १२५ जातजाति रहेका थिए । यसपाली १७ जातजाति थप भएको कार्यालयले जनाएको छ । नेपालमा बोलिने मातृभाषा १२४ रहेको कार्यालयले जनाएको छ ।
नेपालमा १० वटा धर्म रहेको कार्यालयले जनाएको छ । कार्यालयले गत चैत १० गते १२ औं जनगणनाको संक्षिप्त विवरण सार्वजनिक गरेको थियो ।
कार्यालयका अनुसार नेपालमा दुई करोड २६ लाख सात हजार ७४४ हिन्दू धर्मावलम्बी रहेका छन् । जुन कूल जनसंख्याको ८१.१८ प्रतिशत हो । २०६८ को जनगणना अनुसार नेपालमा हिन्दू धर्म मान्नेको संख्या ८१.३ प्रतिशत थियो ।
यस्तै नेपालमा हिन्दूपछि दोस्रोमा बौद्ध धर्म मान्ने छन् । कार्यालयको विवरणअनुसार २३ लाख ९३ हजार ५४९ जना छन् । जुन कूल जनसंख्याको ८.२१ प्रतिशत हो ।
तेस्रोमा मुस्लिम धर्म मान्ने १४ लाख ८३ हजार ६६ जना छन् । जुन कूल जनसंख्याको ५.०८ प्रतिशत हो ।
त्यस्तै किरात धर्म मान्ने नौ लाख २४ हजार २०४ जना छन् । जुन कूल जनसंख्याको ३.१७ प्रतिशत हो ।
नेपालमा क्रिश्चियन धर्म मान्नेको संख्या पाँच लाख १२ हजार ३१३ रहेको छ । जुन कूल जनसंख्याको १. ७५ प्रतिशत हो । २०६८ को जनगणना अनुसार नेपालमा क्रिश्चियन धर्म मान्नेको संख्या १.४ प्रतिशत थियो ।
बाँकी अन्य धर्म मान्ने छन् ।
जनगणनाअनुसार जातजाति, भाषा तथा धर्मसँग सम्बन्धित तथ्याङ्क उत्तरदाताहरूले दिएका जवाफका आधारमा र विज्ञसमूहको सिफारिस अनुसार राष्ट्रिय जनगणना २०७८ मा जातजातिको संख्या, मातृभाषा संख्या र धर्म संख्या कायम भएको कार्यालयले जनाएको छ ।
*यसअघि यही समाचारमा नेपालमा १४२ जातजाति हुनुपर्नेमा १४१ भएकोले सच्याइएको छ । -सं