०४ असार २०८३, बिहीबार

भारतसँग ऊर्जा व्यापारको सहमति 'ब्रेक थ्रु' नै हो : प्रधानमन्त्री प्रचण्ड

जेठ २०, २०८०
काठमाडौं
भारतसँग ऊर्जा व्यापारको सहमति 'ब्रेक थ्रु' नै हो : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो चार दिने भारत भ्रमणमा ऊर्जा व्यापारमा भएको सहमति 'ब्रेक थ्रु' नै भएको बताएका छन् । भारतस्थित मध्यप्रदेशका इन्दोर पुगेका प्रधानमन्त्री प्रचण्डले आफ्नो भ्रमणले नेपालको आर्थिक समृद्धि र विकास प्रक्रियामा नयाँ इँटा थपेको बताएका हुन् । 

सञ्चारकर्मीसँग कुरा गर्दै उनले  यस क्रममा भएका सहमति तथा सम्झौता आफैँमा महत्त्वपूर्ण रहेको र समग्र देशको हितलाई केन्द्रमा राखेर गरिएको उनको दाबी गरे । 

‘भ्रमण खास अर्थमा फलदायी भएको छ । ऊर्जा व्यापारका सम्बन्धमा भएका सहमति आफैँमा एक प्रकारको ब्रेक थ्रु नै हो । जुन कुरा हामीले लामो समयदेखि चाहिरहेका थियौँ’ उनले भने, ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको छलफलका आधारमा ऊर्जाको दीर्घकालीन व्यापारमा सहमति भएको हो ।’

नेपालको ऊर्जा क्षेत्रमा यस प्रकारको सहमतिले ठूलो लगानी भित्र्याउनसमेत बल पुग्ने उनको भनाइ छ । दश वर्षमा १० हजार मेगावाट भारतले आयात गर्ने कुरा आफैँमा ऐतिहासिक र महत्त्वपूर्ण रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । 

भारतीय कम्पनी सतलजले सङ्खुवासभामा निर्माण गरिरहेको नौ सय मेगावाट क्षमताको अरुण तेस्रो, सोही कम्पनीले जिम्मा पाएको तल्लो अरुण जस्ता आयोजनाको सफल उदाहरण भएको उनले बताए । 

निजी क्षेत्रले उठाउँदै आएको मागबमोजिम बिजुली व्यापारमा भएको सहमतिले नयाँ विश्वास र आधार तयार पारेकामा प्रधानमन्त्री प्रचण्डले प्रसन्नता व्यक्त गरे । 

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालगायत एक हजार दुई सय मेगावाट बराबरको बिजुली सहजरूपमा भारत निर्यात हुने वातावरण बनेको छ । यसअघि चिनियाँ कम्पनीको सहभागिता रहेको भन्दै भारतीय पक्षले सो आयोजनाको बिजुलीसमेत लिन मानेको थिएन ।

विश्वव्यापी बोलपत्रका माध्यमबाट छानिएर आएका जुनसुकै कम्पनीको बिजुलीसमेत भारतले सहजरूपमा लिने विषयमा पनि सहमति भएको छ । यस्तै, नेपालको बिजुली बङ्गलादेश लैजाने सन्दर्भमा समेत ऐतिहासिक सहमति भएको छ । बङ्गलादेशले तत्कालका लागि ५० मेगावाट बिजुली लैजाने भएको छ । त्यसका लागि भारतीय पूर्वाधार प्रयोग गर्नुपर्छ ।

प्रधानमन्त्री प्रचण्डले नेपाल, भारत र बङ्गलादेशबीच अब त्रिपक्षीय सहमति नै भएको भनेर मान्न सकिने उल्लेख गरे । नेपालका केही ठूला आयोजनामा बङ्गलादेशले लगानी गर्न इच्छा व्यक्त गर्दै आएको उनको दाबी छ । 

प्रधानमन्त्रीले लामो समयदेखि चर्चामा मात्रै सीमित रहेको र हरेक जसो प्रधानमन्त्रीको भारत भ्रमणमा चर्चामा आउने पञ्चेश्वर बहुउद्देश्यीय आयोजनामा समेत महाकाली सन्धिको मर्मअनुसार अगाडि बढ्न आफूहरू सहमत भएको दाबी गरेका छन् । 

यस्तै, नेपाल र भारतबीच रहेको सीमा समस्या समाधान नगर्दासम्म दुई देशबीचको सम्बन्ध नयाँ आधारमा अगाडि बढ्न नसक्ने र सधैँ यस्तै जटिलता रहिरहने भएकाले पनि यसलाई समाधान गर्न भारत तयार भएको जानकारी उनले दिए । 
‘भारतीय प्रधानमन्त्री मोदीले नै समस्या समाधानमा लागौँ भन्नुभएको छ’ प्रधानमन्त्री प्रचण्डले भने । 

प्रधानमन्त्री प्रचण्डले स्वच्छ ऊर्जाको अभियानमा लागेको भारतले नेपालको बिजुली आयात गर्नेतर्फ केन्द्रित हुनु र त्यसका लागि दीर्घकालीनरूपमा अगाडि बढ्न सहमत हुनु पनि आफैँमा महत्त्वपूर्ण विषय भएको बताए । 

नेपालको बिजुलीको बजार छैन भनेर अब कोही पनि विदेशी लगानीकर्ताले लगानीका लागि डर मान्नुपर्ने अवस्थाको अन्त्य भएको प्रधानमन्त्रीको दाबी छ । 

आफ्नो जोड देशभित्रै बिजुलीको खपत बढाउनुपर्छ भन्नेमा नै रहेको पनि उनको भनाइ छ । 

'अब यस क्षेत्रमा ठूलो मात्रामा लगानी हुने वातावरण बनेको छ । नेपालको बिजुलीको बजारसमेत सुनिश्चित भएको छ,' प्रधानमन्त्रीले भने, 'यो आफैँमा ऐतिहासिक छ ।’

यस्तै, सम्पर्क सञ्जालको विस्तार, रेलमार्ग, धार्मिक पर्यटनको अभिवृद्धि तथा विद्युतीय भुक्तानीलगायतका विषयमा समेत महत्त्वपूर्ण सहमति भएको भन्दै प्रधानमन्त्रीले आफ्नो भारत भ्रमण मुलुकको सर्वपक्षीय हितमा नै केन्द्रित रहेको बताए । 

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बुधवार भारत पुगेका प्रधानमन्त्री प्रचण्ड शनिवार साँझ काठमाडौं फर्किँदैनछन् ।
 

salt training

कमेन्ट गर्नुहोस्