१२ असार २०८३, शुक्रबार

नेपालमा हिन्दु र बौद्ध धर्म मान्ने घटे, इस्लाम, किरात र क्रिश्चियन बढे

जेठ २०, २०८०
काठमाडौं
नेपालमा हिन्दु र बौद्ध धर्म मान्ने घटे, इस्लाम, किरात र क्रिश्चियन बढे
फाइल तस्वीर : काठमाडौंको पशुपतिनाथ मन्दिरमा पूजाआजा गर्दै गरेका भक्तजनहरू ।

राष्ट्रिय जनगणना २०७८ को तथ्यांकले नेपालमा हिन्दु र बौद्ध धर्म मान्नेको संख्या घटेको देखाएको छ । तथ्यांक कार्यालयले शुक्रवार सार्वजनिक गरेको विवरणअनुसार नेपालमा हिन्दु र बौद्ध धर्म मान्नेको संख्या सानो संख्यामा घटेको देखाएको हो । यद्यपि यसअघि कतिपयले आशंका गरेकोजस्तो ठूलो संख्यामा भने घटबढ भएको छैन । 

गत चैत १० गते जनगणनाको विवरण सार्वजनिक गरेको कार्यालयले शुक्रवार मात्रै जाति, धर्म र भाषाको विवरण सार्वजनिक गरेको हो । 

कार्यालयका अनुसार नेपालमा दुई करोड २६ लाख सात हजार ७४४ हिन्दु धर्मावलम्बी रहेका छन् । जुन कूल जनसंख्याको ८१.१९ प्रतिशत हो । २०६८ को जनगणना अनुसार नेपालमा हिन्दु धर्म मान्नेको संख्या ८१.३ प्रतिशत थियो ।

हिन्दुको जनसंख्या ८१.३ प्रतिशतबाट घटेर ८१.१९ मा झरेको छ। १० वर्षको अवधिमा हिन्दु धर्म मान्नेको प्रतिशत ०.११ ले घटेको हो । 

नेपालमा हिन्दुपछि दोस्रोमा बौद्ध धर्म मान्ने छन् । बोद्ध धर्म मान्नेको संख्या पनि घटेको तथ्यांकले देखाएको छ । कार्यालयको विवरणअनुसार २३ लाख ९३ हजार ५४९ जना छन् । जुन कूल जनसंख्याको ८.२१ प्रतिशत हो । 

२०६८ को जनगणना नेपालमा बौद्ध धर्म मान्नेको प्रतिशत ९ प्रतिशत थियो । १० वर्षको अवधिमा १ प्रतिशतले घटेको छ ।

तथ्यांक कार्यालयले शुक्रवार सार्वजनिक गरेको विवरणअनुसार इस्लाम, किरात र क्रिश्चियन धर्म मान्नेको संख्या भने बढेको छ । 

तेस्रोमा मुस्लिम धर्म मान्ने १४ लाख ८३ हजार ६६ जना छन् । जुन कूल जनसंख्याको ५.०८ प्रतिशत हो । २०६८ को जनगणना अनुसार मुस्लिम धर्म मान्नेको संख्या ४.४ प्रतिशत थियो । 

त्यस्तै किरात धर्म मान्ने नौ लाख २४ हजार २०४ जना छन् । जुन कूल जनसंख्याको ३.१७ प्रतिशत हो । २०६८ को जनगणना अनुसार किरात धर्म मान्ने ३ प्रतिशत थिए । 

नेपालमा क्रिश्चियन धर्म मान्नेको संख्या पाँच लाख १२ हजार ३१३ रहेको छ । जुन कूल जनसंख्याको १.७६ प्रतिशत हो । २०६८ को जनगणना अनुसार नेपालमा क्रिश्चियन धर्म मान्नेको संख्या १.४ प्रतिशत थियो ।

उत्तरदाताहरूले दिएका जवाफका आधारमा र विज्ञसमूहको सिफारिसअनुसार राष्ट्रिय जनगणना २०७८ मा जातजातिको संख्या, मातृभाषा संख्या र धर्म संख्या कायम भएको कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्