०२ साउन २०८३, शनिबार

महिलाको नाममा भू–स्वामित्व बढ्दै

जेठ २४, २०८०
रसुवा
महिलाको नाममा भू–स्वामित्व बढ्दै
प्रतिकात्मक तस्वीर

रसुवा मालपोत कार्यालयबाट हुने रजिस्ट्रेसनमा राजस्व छुट पाएका कारण महिलाका नाममा जग्गा जमिनको भू–स्वामित्व कायम गराउने कार्य क्रमशः बढ्न थालेको छ ।

महिलालाई अचल सम्पत्तिको मालिक बनाई जीवनयापनमा सहजको साथै पारिवारिक रूपमा हुने विभेद हटाउन सरकारले विगत लामो समयदेखि राजस्वमा ५० प्रतिशत छुट दिने प्रावधान ल्याएपश्चात्  रसुवामा पछिल्लो समय महिलाको नाममा भू–स्वामित्व बढ्न थालेको हो ।
       
राष्ट्रिय जनगणना २०७८ को तथ्यांक मंगलवार धुञ्चेमा सार्वजनिक गर्दै तथ्यांक कार्यालय नुवाकोटले ८२६ रसुवाली महिलाले एकलरूपमा भू–स्वामित्व कायम गरेको जानकारी दिएको हो । तीमध्ये १८८ महिलाको घर निर्माण र ६३८ महिलाको जग्गा मात्र रहेको छ । ९५० महिलाको भने पतिबीच संयुक्त जग्गाधनी प्रमाण पुर्जा लिएको तथ्यांक अधिकृत दीपेन्द्रसिंह धामीले जानकारी दिए ।
 
२२ हजार ६५४ महिला रहेको रसुवामा क्रमिकरूपले महिलाको नाममा भू–स्वामित्व बढ्दै गएको छ । महिलाको नाममा जग्गामध्ये सदरमुकाम क्षेत्रमा २५ प्रतिशत र अन्य क्षेत्रमा ५० प्रतिशत राजस्व छुट हुने प्रावधान रहेको मालपोत प्रमुख गणेश श्रेष्ठले जानकारी दिए ।
   
२६ जातजाति रहेकोे रसुवाको कूल जनसंख्या ४६ हजार ६०० तथा ८९ रहेको छ । तीमध्ये ३२ हजार १२७ तामाङ समुदायको बाहुल्यता रहेको तथ्यांकले देखाएको छ । ६९ दशमलव ६० प्रतिशत साक्षर रहेको रसुवामा ११ हजार १३१ परिवारले आवास निर्माण गरेको बताइएको छ ।

रसुवाबाट वैदेशिक रोजगारका लागि जानेमा ९७३ महिला एवं १ हजार ३२९ पुरुष रहेको विवरण सार्वजनिक गरिएको छ । रसुवा र नुवाकोट हेर्ने तथ्यांक कार्यालयले आम नागरिकलाई जनगणनाको नतिजाबारे जानकारी गराउन विवरण सार्वजनिकीकरण कार्यक्रम गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्