
सुर्खेतमा ५ जनामा दादुरा देखा परेको छ । ६५ शंकास्पद बिरामीको चेकजाँच गर्दा उनीहरूमा दादुरा भेटिएको हो ।
वीरेन्द्रनगर र चिङ्गाडमा २/२ तथा गुर्भाकोटका १ जनामा दादुरा भेटिएको स्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतमले जानकारी दिए । उनका अनुसार कालीकोटमा पनि ३ जनामा दादुरा देखिएको छ ।
जेठ २८ गतेदेखि सुर्खेतका ९ वटै पालिकामा दादुरा विरुद्धको खोप अभियान शुरू गरिने भएको छ । २ चरणमा सञ्चालन हुने खोप अभियान आगामी असार ५ गतेसम्म सञ्चालन गरिने छ ।
पहिलो चरणमा बराहाताल, चिङ्गाड, भेरीगङ्गा र लेकबेंसी तथा दोस्रो चरणमा वीरेन्द्रनगर चौकुने, सिम्ता, पञ्चपुरी र गुर्भाकोटमा खोप अभियान सञ्चालन गरिने गौतमले बताए ।
दादुरा रुबेल खोप अभियान सञ्चालनसम्बन्धी जिल्ला खोप समन्वय समिति, सञ्चारकर्मी र सरोकारवालाको अभिमुखीकरण गरिएको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गंगाराम सुनारले वडाले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए ।
अभियानलाई सफल बनाउन सरकारको धेरै लगानी भएको उल्लेख गर्दै उनले गुणस्तरीय र प्रभावकारी समन्वय आवश्यक पर्ने बताए ।