
चालू आवको पहिलो १० महिनामा विदेशी विनिमय सञ्चिति २०.९ प्रतिशतले बढेको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको वैशाख मसान्तसम्मको तथ्यांकले विदेशी विनिमय सञ्चिति १४ खर्ब ७० अर्ब ३३ करोड पुगेको देखिएको हो ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा यस्तो सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको थियो ।
अमेरिकी डलर सञ्चिति पनि ९ अर्ब ५४ करोडबाट १७.६ प्रतिशतले बढेर ११ अर्ब २१ करोड कायम भएको राष्ट्र बैंकले जनाएको छ ।
चालू आवको ९ महिना अर्थात चैत मसान्तसम्ममा कुल विदेशी मुद्रा सञ्चिति १४ खर्ब ३३ अर्ब ७३ करोड र त्यसभित्र अमेरिकी डलर सञ्चिति १० अर्ब ९४ करोड थियो ।
एक महिनाको अवधिमा कुल विदेशी मुद्रा सञ्चिति करीब ३७ अर्बले बढ्दा डलरतर्फ २७ करोड वृद्धि भएको छ ।
आयात १६.८, निर्यात २४.५ र कुल वस्तु व्यापार घाटा १५.९ प्रतिशतले घटेको देखिएको छ ।
विप्रेषण आप्रवाह (रेमिट्यान्स) नेपाली रुपैयाँमा २३.४ र अमेरिकी डलरमा १३.४ प्रतिशतले वृद्धि हुँदा शोधनान्तर स्थिति २ खर्ब १४ अर्ब ६७ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।
चालू आवको १० महिनामा १० खर्ब ०५ अर्ब १८ करोड रेमिट्यान्स भित्रिएको छ । यस अवधिमा अमेरिकी डलरमा ७ अर्ब ७० करोड रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको तथ्यांक छ ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ७.३ प्रतिशतले बढेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा ३.१ प्रतिशतले बढेको छ ।
वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११.४ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ३.३ प्रतिशतले रहेको राष्ट्र बैंकले जनाएको छ ।
हेर्नुहोस्, तथ्यांक :