२५ जेठ २०८३, सोमबार

राष्ट्रिय कविता प्रतियोगितामा सिरहाका भट्टराई प्रथम

जेठ २७, २०८०
तनहुँ
राष्ट्रिय कविता प्रतियोगितामा सिरहाका भट्टराई प्रथम

गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँको आयोजनामा दमौलीमा शुक्रवारदेखि शुरू भएको राष्ट्रिय कविता प्रतियोगितामा सिरहाका अविनाश भट्टराई प्रथम भएका छन् ।

प्रतियोगितामा संखुवासभाका सिजन श्रेष्ठ द्वितीय, झापाका केशव भट्टराई तृतीय भएका छन् ।

रौतहटका मनोज विश्वकर्मा, चितवनका सिर्जन अविरल, मोरङका पूजा आराधना, तनहुँका प्रकाश रम्घाली, गोरखाका भरतबाबु ढकाल र सिन्धुपाल्चोकका सुन्दर शिरिष सान्त्वना भएका छन् ।

प्रथम, द्वितीय र तृतीय हुने कविलाई क्रमशः ५५ हजार, ४० हजार र २५ हजार रुपैयाँ नगद प्रदान गरिनेछ । सान्त्वना हुनेलाई जनही १० हजारका दरले पुरस्कार प्रदान गरिनेछ । पुरस्कार आज प्रदान गरिने गण्डकी वाङ्मय प्रतिष्ठानकी सचिव अन्जु दाहालले जानकारी दिइन् । साहित्यकार रमेश पौडेलको संयोजकत्वमा रहेको निर्णायक समितिले उत्कृष्ट कविता घोषणा गरेको हो । 

कविता प्रतियोगितामा देशभरबाट २३७ कविता प्राप्त भएको थियो । २ वर्ष अगाडि कार्यक्रम तय गरी कविता प्राप्त भएकामा सोही कवितालाई अहिले प्रतिस्पर्धामा सहभागी गराई घोषणा गरिएको प्रतिष्ठानका अध्यक्ष अर्जुन अधिकारीले जानकारी दिए ।

उनले भने, ‘२ वर्ष पहिला कार्यक्रम तय भई कविताहरू प्राप्त भएका थिए, त्यतिबेला कोभिडका कारण कार्यक्रम गर्न नसकेर स्थगित भयो, सोही कविता अहिले प्रतिस्पर्धामा सहभागी गराएर उत्कृष्ट घोषणा गरिएको हो ।’

कार्यक्रममा गण्डकी वाङ्मय पुरस्कार २०७९ देखि वरिष्ठ साहित्यकार समालोचक नारायणप्रसाद गौतमलाई प्रदान गरिएको छ । विक्रम संवत् २०५४ सालमा स्थापना भएको यो संस्थामा स्थापित १ लाख अक्षयकोषबाट साहित्यकार गौतमलाई पुरस्कृत गरिएको हो । पुरस्कारको राशि १० हजार रुपैयाँ रहेको छ ।

कार्यक्रमकै अवसरमा कविता प्रतियोगितामा सहभागी कवितामध्ये उत्कृष्ट ६५ वटा कविता समावेश गरी स्मारिका प्रकाशित गरिएको छ । स्मारिकाको शुक्रवार साहित्यकार सरुभक्त श्रेष्ठले विमोचन गरेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्