०५ साउन २०८३, मंगलबार

‘भानुभक्तकृत भाषारामायण’ : नेपाली कृतिमध्येको गहकिलो रचना

कात्तिक २०, २०७४
‘भानुभक्तकृत भाषारामायण’ : नेपाली कृतिमध्येको गहकिलो रचना

शिवराज आचार्य कौण्डिन्न्यायन नेपालको विद्वत्‌परम्परामा विशिष्ट स्थान राख्ने लेखक हुन् । नेपाली,संस्कृत र हिन्दी भाषामा ४० वटाभन्दा बढी कृति नेपाली वाङ्‌गमयलाई सुम्पिने सामर्थ्य जो कोहीसित हुने कुरै आएन । आचार्यको अध्ययन र अनुसन्धान गहन भएको प्रमाण निजका प्रकाशित कृतिहरू नै हुन् । वेद र वेदमा आधारित वैदिक धर्मबारे विशद व्याख्या एवं निरुपण गर्ने क्षमता भएका थोरै विद्वान्‌हरूमा आचार्यको नाम उल्लेख हुनेगर्छ । “उनले आफ्नो जीवनको करिव चार दशक वेदान्त विषयको प्राध्यापनमा बिताए,” सुनील सिटौलाको १६ भाद्रको फेसबुक लेखोट (पोस्ट) पढेका पाठकले आचार्यबारे यी र यस्तै जानकारी पाइसकेको हुनुपर्छ ।

नेपालले एक मूर्धन्य विद्वान् गुमाएको छ । कलेजोसम्बन्धी रोगले चापेको केही महिनापछि भाद्र १५ गते (३१ अगष्ट) मा काठमाडौंमा आचार्यको निधन भयो । वि.सं. १९९७ साल माघ २० गते शिवराज आचार्यको जन्ममिति रहेछ, त्यसको हिसाब गर्दा ७७ वर्षको आयु देखिन्छ । ५० वर्षभन्दा लामो त लेखनजीवन भएको सिटौलाको भनाइ छ ।

डा. जयराज आचार्यको कथन छ: शिवराज आचार्यलाई पूर्वीय विद्वत्‌परम्परा र पाश्चात्य परम्परालाई गहिराइमा बुझेर विश्लेषण गर्नसक्ने अद्वितीय विद्वान् मान्नुपर्छ । संस्कृतका रचनामध्ये ‘काव्यप्रकाश’ उनको उल्लेख्य कृति हो ।

‘भानुभक्तकृत भाषारामायण’ (जसको प्रथम संस्करण २०६७ मा प्रकाशित भएको देखिन्छ) स्वर्गीय शिवराज आचार्यका नेपाली कृतिमध्येको गहकिलो रचना हो । मूल ग्रन्थ ‘एक् दिन् नारद सत्यलोक् पुगिगया लोक्‌को गरू हीत् भनी’ बाट आरम्भ भएको रामायण हो तर यसमा भानुकै जीवनचरित्र र उनका अन्य कृतिसमेत समावेश गरिएको छ । उस बखतको भाषामा चलन गरिएका साह्रा-गाह्रा-अप्ठेरा शब्दहरूलाई अर्थ्याइदिने काम पनि सम्पादक शिवराज आचार्यबाट भएको छ । भानुका विषयमा समकालीन र पछिका कविहरूले पोखेका उद्‌गारमध्येको यो निकै रोचक देखिन्छ :---

रामायण् छ अगम्य संस्कृतमाँहाँ पुग्दैन सब्‌को गती

भाषाश्लोक बनाइदिन्छु र पढुन् लागोस् हरीमा मती ।

एस्तो सुर् गरि भानुभक्त कविले भाषा बनाइदिया

थर् आचार्य छ घर् त हो तनहुँमा साह्रै दयालु थिया ।।  

पढाउने सन्दर्भमा शिवराज आचार्य वेद, वेदान्तमा केन्द्रित भएपनि लेखनको परिप्रेक्ष्यमा उनको सिर्जनाको फाँट निकै फराकिलो थियो: नेपाली भाषा, व्याकरण, ध्वनिविज्ञान,संस्कृतशिक्षा, संस्कृतध्वनिविज्ञान, वेदाङ्गज्योतिष, वैदिक धर्म । आदि, इत्यादि । संस्कृत ग्रन्थ एवं पध्दतिको संग्रह र व्याख्यामा पनि आचर्यको ठूलो योगदान रहेको छ । लेखकका यी बहुमूल्य कृतिहरूले नेपाली समाजले उनको सम्झना चिरकालपर्यन्त गरिरहला ।

  • ध्रुवहरि अधिकारी

salt training

कमेन्ट गर्नुहोस्