
कुनै सामान्य व्यक्तिको खुट्टाको लम्बाइ कति होला ? तपाई हामीले भन्न सक्छौं ७० देखि ९० सेन्टिमिटर । तर विश्वास नलाग्ला कि एक महिलाको खुट्टाको लम्बाइ १३२.८ सेन्टिमिटर छ ।
सामान्य महिलाको पूर्ण उचाइभन्दा उनका खुट्टाको लम्बाइ नै बढी छ । ति महिला हुन्, रसियाकी मोडेल इकाटेरिना लिसिना ।
कुनैबेला लामा खुट्टाका कारण अपहेलनाको सिकार हुनुपरेकी लिसिनाले अन्ततः विश्वकै लामो खुट्टा भएकी महिलाको रुपमा गिनिज बुकमा नाम लेखाएकी छिन् ।
६ फिट ९ इन्च अग्ली मोडेल लिसिनाको नाउँमा विश्वकै अग्ली मोडेलको किर्तिमान यसअघि नै कायम भैसकेको छ ।
२९ वर्षकी लिसिनाको बायाँ खुट्टाको लम्बाई १३२.८ सेन्टिमिटर छ भने दायाँ खुट्टाको लम्बाई १३२.२ सेन्टिमिटर रहेको छ ।
वास्तवमा लिसिनाको खान्दानका प्राय सबै व्यक्ति नै अग्ला छन् । उनका दाजू ६फिट ६ इन्च अग्ला छन् । उनका बुवा ६ फिट ५ इन्च अग्ला छन् भने आमा ६ फिट १ इन्च अग्ली छन् ।
किशोरावस्थामा लामो जिउकै कारण उनले धेरैका अगाडि हाँसोको पात्र बन्नु परेको थियो । अग्लो खुट्टा भएर संसारका लागि नमूना बन्ने उद्देश्यसहित सिलिनाले किशोरावस्थामै व्यवसायिक मोडेल हुने अठोट गरेकी थिइन् ।
सन् २००८ को ओलम्पिक खेलमा उनी रुसको राष्ट्रिय बास्केटबल टोलीमा पनि छनौट भइन् । उक्त ओलम्पिकमा उनले कास्यपदक पनि हात पारिन् ।