०७ असार २०८३, आइतबार

ताप्लेजुङमा अत्यधिक वर्षा : बाढीले पुल बगायो, जनजीवन प्रभावित

असार १, २०८०
ताप्लेजुङ
ताप्लेजुङमा अत्यधिक वर्षा : बाढीले पुल बगायो, जनजीवन प्रभावित

अत्यधिक वर्षाका कारण ताप्लेजुङको पूर्वी क्षेत्रको जनजीवन प्रभावित भएको छ । दुई दिनदेखिको अविरल वर्षाका कारण सिरीजङ्घा र सिदिङ्वा गाउँपालिकाका विभिन्न क्षेत्रमा बाढी, पहिरोले क्षति पुगेको छ । निरन्तरको वर्षाले थप जोखिम बढेकाले यहाँका नागरिक त्रसित बनेका छन् ।
 
गए राति आएको बाढीले सिरीजङ्घाको खेवाङ र सिदिङ्वाको मेहेले जोड्ने तावाखोलामाथिको मोटरेवल पुल बगाएको छ । एक महिनाअघिदेखि सञ्चालनमा आएको उक्त पुलको आधा भाग बाढीले बगाएको स्थानीयले बताए । सिरीजङ्घा गाउँपालिका–८ याम्फुदिनमा दुई वटा जलविद्युत् आयोजनामा बाढीले क्षति पुगेको छ । स्थानीय पेम्बा शेर्पाका अनुसार आठ किलोवाट क्षमताको जलविद्युत्को पावर हाउस बाढीले बगाएको छ भने अर्को १५ किलोवाटको पाइप बगाएको छ ।
 
यस्तै स्थानीय  जगतबहादुर राईको एक घर बाढीकै कारण जोखिममा परेको छ । यता सिदिङ्वा गाउँपालिकाको सुरुम्खिमका विद्यालय बिहीबारदेखि नै वर्षाका कारण बन्द गरिएका छन् । अत्यधिक वर्षाले बाडी पहिरोको जोखिम रहेकाले विद्यालय बन्द गरिएको हो । निरन्तर वर्षा भइरहेकाले जनजीवन त्रसित बनेको खेवाङका शिक्षक विनम माबोले बताए ।  

२९ घरपरिवार उच्च जोखिममा 

गएको बिहीवारदेखि निरन्तर वर्षासँगै बाढी पहिरोले ताप्लेजुङको पूर्व क्षेत्रमा पर्ने सिरीजङ्गा गाउँपालिका र सिदिङवा गाउँपालिका विभिन्न गाउँमा उच्च जोखिममा परेका छन् । बिहीवारदेखि निरन्तर वर्षासँगै पाढी पहिरोका कारणले २९ घरपरिवार उच्च जोखिममा परेको हो । 

सिदिङ्वा गाउँपालिका–७ सुरुङखिम क्षेत्रमा बुधबार साँझदेखि निरन्तर वर्ष भइरहेको सिदिङवा गाउँपालिका–७ का लुक्षुमण तामाङले बताए । उनका अनुसार खोेला खोल्सा तर्न नसकिने अवस्था भएको छ । एक घरदेखि अर्को घर जानसमेत सम्भव नभएको वडाध्यक्ष तामाङले बताए ।

बाटो सबै अवरुद्ध भएसँगै गाउँदेखि सदरमुकाम फुङ्लिङ, झापा, धरानलगायत विभिन्न क्षेत्रमा छुट्ने गाडी गाउँमै रोकिएको सिदिङवा गाउँपालिकाका उपाध्यक्ष कृष्णकुमारी कडरियाले बताए । उनका अनुसार गत सातामात्र उद्घाटन गरेको तावा खोलामा निर्माण गरेको मोटरेवल पुलको एक साइटको पिलर बगाएसँगै यातायातका साधन आवतजावतमा ठप्प भएको उपाध्यक्ष कडरियाले बताए । धेरै क्षेत्रमा अलैँची बगानसमेत क्षति पुगेको छ ।  

त्यस्तै सिरिजङ्गा गाउँपालिका–७ याम्फुदीनमा गए रात पहिरोले विद्युत्गृहनै बगाएसँगै गाउँन अन्धकार भएको स्थानीय राजकुमार लिम्बूले बताए । स्थानीयका अनुसार काबेली खोलामा गए राति आएको बाढीले घर जगतबहादुर राई र तारामान गुरुङ गुरुङको घर पूर्णरुपमा क्षति गरहेको छ । पशु चौपायको क्षति भने यकिन नभएको स्थानीय विदुर गुरुङले बताए । 

याम्फुदीन प्रहरीचौकीका अनुसार निरन्तर वर्षाका करण १४ घर परिवार उच्च जोखिममा रहेका छन् । प्रहरीका अनुसार कालेली खोला अहिले गाउँमा छिरेको छ । खोला गाउँमा छिरेपछि गाउँनै जोखिममा परेको याम्फुदीन प्रहरीचौकी इञ्चार्ज प्रहरी हवलदार विनोद उरावले बताए । 

बुधबार बेलुकादेखिको वर्षाले बाटो अवरुद्ध हुँदा सिदिङवा गाउँपालिका–१ सुरुमखिमका विद्यालय बिहीबारदेखि बन्द गरिएको छ । बालबालिका विद्यालयसम्म आउने बाटो भत्किएपछि विद्यालयले प्रशासनले सूचना निकालेर विद्यालय बन्द गरेको हो । 

सिदिङवा गाउँपालिका अध्यक्ष मानबहादुर राई सडक अवरुद्ध र खोला बढेपछि झापाको विर्तामोड र ताप्लेजुङ सदरमुकाम फुङलिङ जाने दुईवटा यात्रुवाहक जिप रोकिएको बताउँछन् ।

अब वर्षा रोकिएर खोला नघटेसम्म ती गाडी गाउँकबाट निकाल्ने उपाय नभएको राईले बताए । सिदिङवा र सिरिजङ्गामा गत वर्षको बाढी पहिरोले मानवीय तथा भौतिक क्षति गराएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्