
प्रतिनिधि सभा सदस्यहरूले बैठकको शून्य समयमा समसामयिक विषय र आ–आफ्नो निर्वाचन क्षेत्रसँग सम्बन्धित विषयमा धारणा राखेका छन् । प्रतिनिधि सभाको आइतवार बैठकको शून्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्यहरूले देशको समसामयिक विषयहरूमा आ–आफ्नो धारणा राखेका हुन् ।
प्रतिनिधि सभा सदस्य अजयकुमार चौरासियाले नागरिकताविहीनहरूलाई अविलम्ब नागरिकता दिन सरकारसँग माग गरे । उनले नागरिकता नहुँदा नागरिकताविहीनहरूलाई जीवनयापनमा समस्या भएको उनले बताए ।
प्रतिनिधि सभा सदस्य अनिता देवीले देशमा दाइजो र घरेलु हिंसाको समस्या बढिरहेको भन्दै समस्या समाधानमा सरकारले ध्यान दिनुपर्ने बताइन् ।
प्रतिनिधि सभा सदस्य अनिशा नेपालीले आगामी आर्थिक वर्षका लागि छुट्याइएको बजेट असमान र संवेदनहीन भएको बताए । सबै जिल्लामा समान व्यवहार गर्नुपर्ने भए पनि यसपटक तिन जिल्लाका लागि मात्रै विनियोजन भएको उनले बताइन् ।
प्रतिनिधि सभा सदस्य अमरबहादुर थापाले विद्यालयका लेखापाल र कार्यालय सहयोगीहरू आन्दोलित भइरहेको भन्दै उनीहरूको माग सम्बोधन गर्न सरकारसँग माग गरे । उनले सहकारीबाट ठगिएका नागरिकहरू पनि आन्दोलित रहेका भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।
प्रतिनिधि सभा सदस्य अमरबहादुर रायमाझीले विद्यालय कर्मचारीको समस्या यथाशीघ्र समस्या समाधान गर्न सरकारसँग माग गरे । उनले मदन भण्डारी राजमार्गले ओगटेको जग्गाको लगत कट्टा गर्न पनि माग गरे ।
प्रतिनिधि सभा सदस्य अमृतादेवी अग्रहरीले मधेशका कपिलवस्तु, रुपन्देही र नवलपरासीमा दैनिक ५ घण्टा लोडसेडिङ हुने गरेको भन्दै यसले जनजीवन प्रभावित भएको बताए ।
प्रतिनिधि सभा सदस्य अशोक कुमार चौधरीले थारू समुदायको ऐतिहासिक, पुरातात्विक जन्मदेखि मृत्युसम्म चाहिने डिबार ग्रामथानहरू सूचिकृत गर्न माग गरे । उनले थारू कला, संस्कृति, पर्यावरण क्षेत्रको विकास गर्न सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराए ।
प्रतिनिधि सभा सदस्य असिम शाहले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेर सही गरेको बताए । उनले भारतले नेपालको स्वाभिमान र सार्वभौम अस्तित्वमाथि निरन्तर आक्रमण गरिरहेको बताए ।
प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले नेपाल भ्रमणमा आउने बुद्धिष्ट भिक्षु, भिक्षुणीहरूलाई विमानस्थलमा अपमानजनक व्यवहार हुने गरेको गुनासो आएको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले भिक्षु, भिक्षुणीहरूलाई विमानस्थलमा फाष्टट्रयाकको व्यवस्था गर्न माग गरे ।
प्रतिनिधि सभा सदस्य गणेश पराजुलीले किसानहरूका लागि मल, बिउ सहज रूपमा उपलब्ध गराउन र लम्पिस्किन रोग नियन्त्रणको प्रयास गर्न सरकारसँग माग गरे ।
प्रतिनिधि सभा सदस्य चित्रबहादुर केसीले नक्कली भूटानी शरणार्थी प्रकरणमा दोषीलाई उम्काउन १२० जना वकिलहरू लागि परेको भन्दै दोषिउपर निष्पक्ष छानबिन गर्न माग गरे ।
प्रतिनिधि सभा सदस्य ज्वालाकुमारी शाहले मधेशमा तापक्रम वृद्धिका कारण पानीको मुहान सुकेको भन्दै तराईंमा पानी, बत्ती र सिंचाईंको व्यवस्था गर्न माग गरे ।