
नक्कली शरणार्थी प्रकरणमा सरकारी वकिल र जाहेरवाला पक्षको जवाफी बहस सकिएको छ ।
झण्डै दुई साताअघि जेठ २१ गते आइतवारबाट शुरू भएको बहस शुक्रवार सकिएको हो ।
शुक्रवार सरकारी वकिलतर्फ अच्युतमणि नेउपाने, लक्ष्मण घिमिरे, महेश खत्री, निर्मला मरासिनी र दिनेश भट्टराई तथा जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ र अधिवक्ता स्वागत नेपालले बहस गरे ।
बहसमा सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि नेउपानेले प्रमाण लोप गर्न सक्ने भएकाले प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने माग गरे ।
'प्रतिवादीहरूलाई धरौटीमा छाड्ने हो भने मुद्दाको प्रमाण लोप हुने अवस्था छ । टोपबहादुर रायमाझीले पक्राउ पर्नुअघि नै मोबाइल खोलामा फाले । अन्य प्रतिवादी पनि हिरासतमै छँदा समेत प्रमाण लोप गर्न धेरै काम भएका छन् । फेरि यी प्रतिवादीलाई धरौटीमा छाडे पीडितलाई अन्याय हुनेछ,' नेउपानेले भने ।
जाहेरवालाको तर्फबाट जवाफी बहस गरेका अधिवक्ता स्वागत नेपालले पीडितहरूलाई ज्यानकै खतरा रहेकाले प्रतिवादीहरूलाई धरौटी वा साधारण तारेखमा रिहा गर्न नहुने जिकिर पेश गरे । अहिले पनि डरका कारण कतिपय पीडितले जाहेरी दिन समेत नसकेको उनको भनाइ थियो ।
शुरूमा सरकारी वकिल, त्यसपछि जाहेरवाला र प्रतिवादी पक्षका वकिलको बहस सकिएपछि शुक्रवार जवाफी बहस भएको हो । जवाफी बहस पनि सकिएपछि न्यायाधीश प्रेमप्रसाद न्यौपाने थुनछेक आदेशको तयारीमा जुटेका छन् ।
'सम्भव भएसम्म आजै आदेश आउँछ,' काठमाडौं जिल्ला अदालत स्रोतले लोकान्तरसँग भन्यो ।