३१ जेठ २०८३, आइतबार

विरिङ नदीको पुल निर्माण अन्तिम चरणमा

असार ३, २०८०
झापा
विरिङ नदीको पुल निर्माण अन्तिम चरणमा
प्रतिकात्मक तस्वीर

हुलाकी राजमार्गको झापा सडकखण्डमा रहेको विरिङ नदीको पक्की पुल निर्माण अन्तिम चरणमा पुगेको छ । 

पूर्वपश्चिम राजमार्गको विकल्पका रूपमा बनिरहेको सडकको पुल चालू आर्थिक वर्षको असार मसान्तसम्ममा सञ्चालनमा ल्याउने योजनाका साथ काम भइरहेको हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका इन्जिनीयर प्रमोद खतिवडाले बताए ।

विक्रम संवत् २०६८ सालमै पुल निर्माण शुरू भएको हो । पुल निर्माण शुरूको १२ वर्षपछि बल्ल काम अन्तिम चरणमा पुगेको उनले बताए । शुरूमा ठेक्का लिएको ठेकेदार कम्पनीको लापरवाहीले पुल निर्माण ढिलो भएको उनको भनाइ छ । उनका अनुसार २ वर्षअघि पुल निर्माणको काम पप्पु जेभीको पार्टनर महादेव खिम्तीले लिएको छ ।

उनले खोलामा पानीको बहाव ६ महिनासम्म बढी हुने भएको कारण पुलको निर्माणमा ढिलाइ भएको बताए । ‘वर्षा शुरू हुनेबित्तिकै खोलामा पानीको बहाव बढ्छ । नदीमा पानी बढी भएको बेला काम गर्न सकिँदैन । वर्षमा ६ महिना मात्र काम हुने हुँदा र ठेकेदारको ढिलासुस्तीले गर्दा झनै ढिलो भइरहेको छ,’ उनले भने ।

इन्जिनीयर खतिवडाले पुलको ९८ प्रतिशत काम सकिँदा भने वित्तीय प्रगति ७० प्रतिशत मात्र भएको बताए । राष्ट्रिय गौरवको आयोजना भए तापनि आर्थिक स्रोतको सुनिश्चित नहुँदा वित्तीय प्रगति कम भएको हो । उनले ३६ करोड रुपैयाँ बढीको लागतमा निर्माण भइरहेका पुलमाथि १९ वटा स्लाब लगाउनुपर्नेमा ११ लगाइसकिएको र बाँकी ८ वटा लगाउने काम भइरहेको बताए ।

‘विगतको तुलनामा ठेकेदार कम्पनीको काम अलि स्लो भयो,’ उनले भने, ‘सकेसम्म असार मसान्त नभए पनि भदौ असोजदेखि पुलमाथिबाटै सवारी कुद्ने वातावरण बन्छ ।’

समयमै पुल नबन्दा प्रत्येक वर्ष वर्षात्को समयमा स्थानीयले बाँसको टाटीको अस्थायी पुल बनाएर खोलाबाट आवतजावत गर्दै आएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्