
संखुवासभाको हेंवा खोलामा आएको बाढीले बगाएर १ जनाको मृत्यु भएको छ ।
जिल्लाको पाँचखपन नगरपालिका–५ मा बाढीले बगाएर ल्याएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
चैनपुर–४ पकोटम पाँचखपन–९ मा गएको पहिरोले खोला थुनिएको थियो । थुनिएको खोला एक्कासि खुलेर आएको बाढीले आसपासको क्षेत्रमा धेरै क्षति गरेको हुनसक्ने प्रहरीले जनाएको छ ।
बाढीले चैनपुर–४ मा निर्माणाधीन सुपर हेंवा हाइड्रोमा क्षति गरेको छ । परियोजनामा काम गर्ने १६ मजदुरहरू सम्पर्कविहीन रहेका जनाइएको छ । काम गर्ने १९ मजदुरमध्ये ३ जना भने सम्पर्कमा आएको संखुवासभा प्रहरी प्रमुख विरेन्द्र गोद्धारले बताए ।
बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुल पनि बगाएको छ भने ४ घर पनि बगाएको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।