काठमाडौं, २५ भदौ– नेकपा एमालेका नेता माधव कुमार नेपालले उत्तर कोरियाको भ्रमण गरेको विषय विवादमा तानिएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेता माधव कुमार नेपालले उत्तर कोरियाको भ्रमण गरेको विषयमा आफूलाई थाहा नभएको र उनको भ्रमणको जवाफ पार्टीले दिन नसक्ने भनेसँगै एमालेमा विवाद देखिएको हो ।
ओलीले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा कुन परिस्थितिमा कहाँ जाने भन्ने कुरा उहाँलाई आफूले सिकाउन नमिल्ने बताएका थिए ।
पार्टी अध्यक्षको यस्तो भनाइ सार्वजनिक भएसँगै नेता नेपालले समेत त्यसको जवाफ दिएका छन् ।
दुई नम्बर चुनावको अभियानमा बर्दिवासमा रहेका नेता नेपालले उत्तर कोरियाबाट भ्रमणको निम्तो एमालेलाई नभई आफूलाई आएको बताएका छन् । नेता नेपालले भने,“पार्टीलाई निमन्त्रणा आएको हाईन, माधव नेपाललाई आएको हो, त्यसैले म गएको हुँ ।”
आफू शान्ति, समन्वय र सद्भाव फैलाउन उत्तर कोरिया गएको उनको भनाइ थियो ।
उनले पार्टीभित्र अहिले विवाद नभएको समेत स्पष्ट पारे । उनले भने,“हामी अहिले चुनावी मैदानमा छौं, पार्टी पूर्ण रुपमा एक ढिक्का छ।”