
नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाका प्रयोगकर्ताले अबदेखि आफ्नो इसेवा खातामा रहेको रकम एटीएममार्फत सहजै झिक्न सक्ने भएका छन् ।
इसेवाले हाल एभरेष्ट बैंकसँगको सहकार्यमा इसेवा खातामा रहेको रकम एटीएमबाट समेत झिक्न सकिने व्यवस्था गरेको हो । इसेवामा रहेको रकम एटीएमबाट निकाल्दा कुनै किसिमको कार्ड प्रयोग गर्नु नपर्ने कम्पनीले जनाएको छ । इसेवाका प्रयोगकर्ताले आफ्नो मोबाइलमा आउने ओटीपीमार्फत सहजै एटीएमबाट नगद झिक्न सक्नेछन् ।
यसअघि इसेवामा रहेको रकम झिक्न आफ्नो खाता रहेको बैंकमा ट्रान्स्फर गर्नुपर्ने हुन्थ्यो । तर अबदेखि एटीएममार्फत पनि रकम झिक्न सकिने भएपछि इसेवा प्रयोगकर्तालाई झनै सहज हुने भएको छ । यो सेवा वालेट कम्पनीहरूमा नेपालमै पहिलोपटक शुरूवात गरिएको हो ।
इसेवामा रहेको रकम एटीएममार्फत झिक्न सकिने सेवाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले भने, ‘इसेवा प्रयोगकर्तालाई इसेवामा रहेको रकम झिक्न अझ सहज होस् भन्ने उद्देश्यले हामीले एभरेष्ट बैंकसँगको सहकार्यमा एटीएमबाटै रकम झिक्न सकिने सेवाको शुरूवात गरेका हौं । हामी जहिले पनि क्यासलेस अर्थतन्त्रलाई प्राथमिकता दिँदै सोही किसिमका सेवा सञ्चालन गर्दै आएका छौं । तर कहिलेकाहीँ इसेवामा रहेको रकम क्यासमा नै चाहिए पनि प्रयोगकर्तालाई सहज होस् भन्ने उद्देश्यले हामीले यो सेवाको शुरूवात गरेका हौं । हामी नेपाल सरकार र नेपाल राष्ट्र बैंकको क्यासलेस अर्थतन्त्र बनाउने अभियानमा निरन्तर लागिरहेका छौं र लागि नै रहनेछौं । जसका लागि आगामी दिनमा पनि हामीले सोही अनुसारका सेवा सुविधाहरू थप गर्दै जान प्रतिवद्ध छौं ।’
यस्तै, कार्यक्रममा एभरेष्ट बैंकका डेपुटी सीईओ विजयकुमार शर्माले भने, ‘एभरेष्ट बैंक जहिलेपनि आफ्ना ग्राहकलाई नयाँ सेवा र सुविधा दिन तत्पर छ । यसै क्रममा इसेवा जस्तो नेपालको पहिलो र अग्रणी वालेट कम्पनीसँग सहकार्य गर्न पाउँदा हामी पनि उत्साहित छौं ।
इसेवाका प्रयोगकर्ताले एभरेष्ट बैंकका देशभर रहेका कुनै पनि एटीएम मेसिनमार्फत सहजै रकम झिक्न सक्नुहुनेछ । हामी यो आशा गर्छाैं कि यसले नेपालभर रहेका इसेवाका लाखौं प्रयोगकर्तालाई धेरै सहज बनाउनेछ ।’
हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइलमार्फत ७५ लाख ग्राहकले सेवा लिइरहेका छन् । यसैगरी देशभर रहेका दुई लाखभन्दा बढी एजेन्ट (इसेवा जोन तथा पोइन्ट) मार्फत अप्रत्यक्ष रुपमा डेढ करोड भन्दा बढी जनसंख्याले सेवा लिइरहेका छन् ।
इसेवाबाट इन्स्योेरेन्सको प्रिमियम भुक्तानी, स्कुल कलेजको शुल्क भुक्तानी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाइजहाजको टिकट, बस टिकट, मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न किसिमका सरकारी सेवाहरूको शुल्क भुक्तानी लगायतका करिब तीन हजार मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ ।