
काठमाडौं, २६ भदौ — आफ्ना अनुयायीहरूलाई शाही शानको सपना देखाएर बाबा राम रहीमले उनीहरूको जमीन हडप्ने गरेको खुलासा भएको छ ।

यही सपना लिएका सोमवीरले पनि १२ एकड जमीन डेरा सच्चा सौदाको नाममा दान दिएका रहेछन् । यसको पुरस्कारस्वरूप बाबाले उनलाई आफ्नो अडी गाडीमा घुम्ने मौका दिएका रहेछन् ।
त्यति मात्र नभएर बाबाले सोमवीरलाई आफ्नो रिसोर्टको पार्टनर बनाउने गफ दिएर थप २२ एकड जमीन पनि हडपेका रहेछन् ।
यसबाहेक राम रहीम आफूले लगाउने कपडा समेत भक्तहरूलाई किन्न लगाउँथे र आफूले खाएको भाँडोको मूल्य लाखौंमा आँक्थे । बाबाले आफ्नो एक जोर कपडा र गिलासका लागि ६ लाखको बोली लगाएका रहेछन् ।
सोमवीरले केही दिनअघि आत्महत्या गरेका थिए र उनकी पत्नी चित्राले माथि बताइएका कुरा सुनाएकी हुन् ।
बाबाले आफ्नो कपडा र गिलास किनेर प्रयोग गर्ने मानिसहरूको भलो हुने र उनीहरूको आर्थिक स्थिति रूपमा बलियो हुने बताउँथे । यस्तोमा सोमवीरले ६ लाख रुपैयाँ दिएर बाबाको कपडा र गिलास किनेका थिए ।
धोकापूर्ण तरिकाले बाबाले पूरै जमीन हडपेका कारण सोमवीर आत्महत्या गर्न बाध्य भए । उनको परिवारले बाबाको जमीन लिलामी गरेर आफूहरूलाई दिलाउनुपर्ने माग समेत गरेका छन् ।
आफ्नो फिल्म बनाउन पनि राम रहीमले भक्तहरूसँग पैसा लिने गरेको अनि भक्तहरूलाई बेहोश बनाउने औषधि दिएर उनीहरूको गरगहना लुट्ने गरेको आरोप समेत छ ।
एजेन्सी