१० असार २०८३, बुधबार

दाइजोको निहुँमा छोरीको हत्या गरिएको भन्दै आमा धर्नामा

असार ६, २०८०
काठमाडौं
दाइजोको निहुँमा छोरीको हत्या गरिएको भन्दै आमा धर्नामा

छोरी आरती साहको हत्या भएको दाबीसहित न्याय माग्दै धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९ थापचोककी निर्मलादेवी साह माइतीघरमा धर्ना बसेको छ दिन भयो ।

छोरीले आत्महत्या गरेको नभई घरका सदस्यले हत्या गरेको दाबीसहित आमा निर्मलादेवी र बुबा विनोदप्रसादलगायत शुक्रबारदेखि माइतीघरमा न्याय माग्दै धर्नामा बसेका हुन् । 

दाइजो नल्याएको निहुँमा सासू रेणुदेवी साह, ससुरा मदनमोहन साह, श्रीमान् मोतीबाबु र देवर रवि साहले निर्घात कुटपिट गरी छोरीको हत्या गरेको निर्मलादेवीको दाबी छ । आरोपित सबैलाई पक्राउ गरी कारबाही नगर्दासम्म आफूले धर्ना जारी राख्ने निर्मलादेवीको भनाइ छ । 
    
आर्थिक र राजनीतिक प्रभावका भरमा हत्यालाई आत्महत्याको रूप दिइएको उनको जिकिर छ । 

आरतीका श्रीमान्, सासूससुरा र देवरलाई पक्राउ गरी मुद्दा अगाडि बढाउनुपर्ने तथा स्वास्थ्यकर्मी, सरकारी वकिलमाथि छानबिन नगर्दासम्म धर्ना जारी राख्ने माइती पक्षको भनाइ छ ।

गत जेठ ७ गते २२ वर्षीया आरतीको मृत्यु भएको थियो । छोरीको आत्महत्या नभएको र छोरीको हत्या गरिएको भन्दै जिल्ला प्रशासन कार्यालय धनुषामा न्याय नपाएपछि आफूहरू काठमाडौँ आएको उनीहरूको भनाइ छ ।

छोरीको विवाह भएको छ महिनासम्म राम्रै घरजम भए पनि त्यसपछि दाइजो नल्याएको निहुँमा मानसिक यातना दिँदै आएको र मृत्यु हुनुभन्दा दुई÷तीन हप्ताअघिसम्म मोटरसाइकल र दराज लिएर मात्रै घर आउन दबाब दिएको आमा निर्मलादेवीको भनाइ छ । 

घामपानी सहेर छोरीको न्यायका लागि धर्नामा रहेकी निर्मलादेवी छोरीले न्याय नपाएसम्म ज्यानको पर्वाह नगरी आन्दोलनमा उत्रिने बताइन् । 

salt training

कमेन्ट गर्नुहोस्