
बैतडीमा लम्पी स्कीन रोगबाट ८ हजार २०० पशुचौपाया संक्रमित भएका छन् ।
हालसम्म लम्पी स्कीनबाट ५०२ पशुचौपाया मरेका छन् ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख गुमानीदत्त पन्तका अनुसार जिल्लामा गत मंसिरमा पाटनमा केही किसानले पालेका पशुमा यो रोग देखिएको थियो । हाल जिल्लाभरि फैलिएको छ ।
लम्पी स्कीनबाट बाच्छाबाच्छी, गाई, गोरु र भैंसी बढी प्रभावित भएका छन् । लम्पी स्कीनबाट २ हजार ३४८ बाच्छाबाच्छी, २ हजार ९६० गाई, २ हजार २८० गोरु र ६४५ भैंसी संक्रमित भएका छन् ।
लम्पी स्कीन रोगले गाई, गोरु र भैंसी धमाधम मर्न थालेका छन् । हालसम्म १३५ बाच्छाबाच्छी, १७६ गाई, १३२ गोरु र ३० भैंसी मरिसकेका पन्तले जानकारी दिए । लम्पीस्कीनबाट धमाधम पशुचौपाया मर्न थालेपछि किसान चिन्तित बनेका छन् ।
घरपालुवा पशुमा संक्रमण र रोगले धमाधम मर्न थालेपछि चिन्ता बढेको दोगडाकेदार–३ श्रीकोटका मानसिंह विष्टले बताए ।
उनले भने, ‘घरपालुवा जनावर धमाधम थला पर्न थालेका छन् । औषधि उपचार पनि छैन ।’
मकै छर्ने बेला गोरु बिरामी भएको उल्लेख गर्दै विष्टले रोपाइँ गर्न समस्या भएको बताए । उनले भने, ‘मकै छर्ने बेला गोरु बिरामी भएर समस्या भयो, अब रोपाइँ गर्ने बेला भयो, के गर्ने भन्ने चिन्ता छ ।’
रोगबारे प्रदेश सरकार र केन्द्र सरकारलाई जानकारी गराइसकेको प्रमुख पन्तले बताए । जिल्लाका ८४ वटै वडामा यो रोग फैलिसकेको छ ।
नियन्त्रणका लागि सामान्य औषद्योपचार भइरहेको भए पनि नियन्त्रण हुन नसकेको पन्तको भनाइ छ । लम्पी स्कीनको औषधि नभएका कारण यो रोगबाट प्रभावित पशुको उपचारमा समस्या भएको छ । उनले भने, ‘सामान्य औषद्योपचारबाहेक अन्य कुनै नियन्त्रणको उपाय छैन, सरकारी जनशक्ति मात्रै यो रोग नियन्त्रण हुने अवस्था छैन् । अहिले संक्रमित देखिएका पशु पनि मर्ने क्रम झन बढ्ने देखिन्छ ।’